शनिबार १२ साउन २०८१

काठमाडौँको काँडाघारीबाट शुक्रबार राति शिशुसहित पक्राउ परेकी २४ वर्षीया मनकुमारी सिंह अहिले प्रहरीको हिरासतमा छिन्।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालदेखि काँडाघारीसम्मका सीसीटीभी क्यामेराको निगरानीपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ गर्दा ती महिलाको उच्च रक्तस्राव भइरहेको थियो। प्रहरी स्रोतका अनुसार, उनको शुक्रबार नै गर्भ खेर गएको थियो।

गर्भ खेर गएपछि अस्पताल परिसमै भेटिएकी अर्की महिलाको शिशु बोकेर भागेको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ।

मध्यराति प्रहरीले पक्राउ गर्नासाथ सुरुमा मनकुमारीले उक्त बच्चा आफ्नै रहेको दाबी गरेकी थिइन्।

तर, प्रहरीले उक्त बच्चा थापाथली अस्पतालबाटै झुक्याएर लगिएको सीसीटीभी क्यामेरामा देखिएको तस्बिरको सहायतामा थाहा पाइसकेको थियो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट सीसीटीभी निगरानी गर्दै मध्यरातमा मनकुमारीको डेरासम्म प्रहरी पुगेको हो।

थापाथलीस्थित प्रसूति गृहबाट कपन बस्ने काभ्रेकी सबिना श्रेष्ठको बच्चा हराएपछि अनुसन्धान गर्दै प्रहरी त्यहाँ पुगेको थियो।

प्रहरीले शिशु फेला पर्नासाथ राति नै उनकी आमालाई जिम्मा लगायो। जन्मिएको केही दिनदेखि नै जन्डिस भएकोले शिशुको स्वास्थ्य झनै कमजोर भएको थियो।

प्रहरीले दिएको जानकारी अनुसार, ती शिशुलाई राति नै काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरियो।

पक्राउ परेकी ती महिलाको पनि अत्यधिक रक्तस्राव भएपछि उनलाई पनि प्रहरीले अस्पताल लगेको थियो। तर, अहिले उनलाई अस्पतालबाट डिस्चार्ज गरेर हिरासतमा राखिएको एक प्रहरी अधिकारीले जानकारी दिए।

ती महिलाले सुरुमा प्रहरीलाई नै ढाँट्न खोजिन्। तर, उनले बोली फेरिरहेपछि प्रहरीको शंका झन् बलियो भएको हो।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार पक्राउ परेकी ती महिलाले आफ्नो बच्चा खेर गएपछि ‘धेरै माया लागेर’ अर्काको बच्चा लगेको स्वीकार गरेकी छिन्।

मनकुमारीसहित प्रहरीले उनका श्रीमान् नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिएको छ।

उनका पति मल्ल नेपाली सेनामा कार्यरत छन्।

दैलेखको नौमुले गाउँपालिका–१, अवततोली घर भएका उनीहरू अहिले काँडाघारीमा डेरा गरी बस्छन्। उनीहरूको बिहे भएको ३ वर्ष भयो।

स्थानीयले बताए अनुसार, ती महिलाको माइतीघर पनि दैलेख नै हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


Last Updated on: February 24th, 2024 at 4:54 pm
२४३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया