शनिबार १२ साउन २०८१

नायिका निशा अधिकारीले श्रीमान् शरद भेषवाकरको सम्पत्तिबाट एक भाग अंश पाउने फैसला जिल्ला अदालत, काठमाडौंले गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले श्रीमान्को सम्पत्तिबाट तीन भागको एक भाग पाउने फैसला सुनाएका हुन् ।

निशाले गतबर्ष छोरा र आफ्नो लागि शरदको सम्पत्तिबाट दुई भागको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला अदालत, काठमाडौंले निशा र शरदले छोरा बालिग नहुन्जेल दुवैको संरक्षणमा राख्न समेत आदेश दिएको छ । निशा र छोरालाई अब शरदले मासिक ४१ हजार रुपैयाँ समेत दिनुपर्नेछ । जिल्ला अदालत, काठमाडौंले मंसिरको २८ गते यो फैसला सुनाएपनि ढिलो गरि मिडियामा खबर सार्वजनिक भएको हो ।

शरदले वि.सं २०७५ सालदेखि निशा माइतमा रहँदै आएको र आफूले छोराको स्कुलको मासिक खर्च १० हजार व्यहोर्दै आएको पनि बताएका थिए । यस्तै, उनले वि.सं २०७६ सालमा निशालाई आफूले एक लाख रुपैयाँ खर्च दिएको पनि अदालतमा बताएका थिए । शरदले निशाले अंश लिएर छुट्टै बस्न चाहेको र आफूलाई त्यो स्वीकार्य भएको पनि बताएका छन् ।

निशा र शरदबीच सम्पत्ति बाँडफाँडको फैसला आएपनि डिभोर्स भने भएको छैन । विवाहित महिलाले आफ्ना श्रीमान्सँग डिभोर्स नगरी अंश वा माना चामलको दाबी गर्न पाउने कानुनी व्यवस्था छ । यही व्यवस्थालाई टेकेर निशाले मुद्दा दायर गरेकी थिइन् । निशा र शरदले ६ बर्ष अगाडि बिहे गरेका थिए ।


Last Updated on: February 26th, 2024 at 7:48 pm
५९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया