शनिबार १२ साउन २०८१

काठमाडौँ– लियोनल मेसीलाई फुटबलको इतिहासमा महान् खेलाडीका रुपमा लिइन्छ । आफ्नो फुटबल करिअरमा उनले अनेक रेकर्डहरु राखेका छन् ।

मेसीले विश्वकप, कोपा अमेरिका, ला लिगा, च्याप्पियन्स लिग लगायत थुप्रै उपाधि जितिसकेका छन् । फुटबलको इतिहासमा उनले जित्न बाँकी उपाधि अब शायदै होलान् । फुटबल जगतमा सबैभन्दा प्रतिष्ठित मानिने ‘बालोन डिओर’ नै उनले आठपटक हात पारिसकेका छन् ।

मेसीको जीवन र फुटबल करिअर जति रोचक छ, उनको प्रेम कहानी पनि उत्तिकै रोचक छ । उनले सन् २०१७ मा लामो समयदेखिकी प्रेमिका एन्टोनेला रोकुजोसँग बिहे गरेका थिए । मेसीको प्रेम कहानी यति रोचक छ कि, विश्वभर फैलिएका उनका करोडौँ फ्यानले उनको प्रेम कहानी पछ्याउने गर्छन् । किनकि, उनले आफ्नी बाल्यकालकी साथीसँग बिहे गरेका थिए ।

मेसीको बाल्यवस्थाको प्रेम नै केही समयअघि विवाहमा परिणत भएको थियो । दुवै जना अर्जेन्टिनाको रोजारियोमा जन्मेका हुन् । बीबीसीका अनुसार उनीहरुको पहिलो भेट चार/पाँच वर्षको हुँदा भएको थियो । सानोमा उनीहरु दुवै जना सँगै खेल्ने, सँगै पढ्ने र सँगै समय बिताउने गर्थे ।

भ्यानिटी फेयर एस्पानाका अनुसार रोकुजोका नातेदार पर्ने लुकस स्कलिया पनि रोजारियोमै फुटबल खेल्थे । अर्जेन्टिनामा व्यवसायिक फुटबल खेल्ने उनै लुकससँग मेसी पनि युवा टिमबाट खेल्थे । यसैबाट दुवैले एक अर्कालाई चिनेका हुन् । समाचार संस्था सीएनएनका अनुसार रोकुजोसँग नजिक हुन मेसी बारम्बार स्कलियाको घरै पुग्थे ।

त्यसपछि १३ वर्षको उमेरमा फुटबल खेल्न मेसी अर्जेन्टिनाको रोजारियोबाट स्पेनको बार्सिलोना पुगे । रोकुजो भने अर्जेन्टिनामै रहिन् । सन् २००० को दशकको शुरुतिर मेसी र रोकुजोबीच फेरि सम्पर्क भयो । त्यसपछि ज्यान टाढा भए पनि उनीहरुको मन भने अझै नजि भयो । माया जति टाढा, उति गाढा भनेजस्तै ।

मेसीले सन् २००४ मा बार्सिलोनाबाट आफ्नो पहिलो खेल खेले । मेसी स्पेनमा व्यवसायिक फुटबल खेलिरहँदा रोकुजो भने अर्जेन्टिनामै रहेर मानविकी तथा समाज विज्ञान विषयमा ब्याचलर्स गरिन् । पछि रोजारियो राष्ट्रिय विश्वविद्यालयबाट डेन्टिस्ट्रीको अध्ययन गरिन् । अर्जेटिनामा पढाइपछि उनी पनि मेसीसँगै रहन स्पेन पुगिन् ।

मेसीले लामो समयसम्म आफ्नो सम्बन्धलाई गोप्य नै राखेका थिए । सन् २००९ मा दिएको एक अन्तर्वार्तामा बल्ल मेसीले आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेका थिए । त्यतिबेला विश्वभर नै मेसीको प्रेम सम्बन्धले स्थान पाएको थियो । त्यसपछि सन् २०१० मा ब्राजिलको रियो दे जेनरोमा दुवैले सँगै सनबाथ लिइरहेको तस्वीर मिडियामा छापिएपछि उनीहरुबीचको प्रेम सम्बन्धको चर्चा अझै चुलियो ।

बिहे नगर्दै सन् २०१२ नोभेम्बरमा यो जोडीले पहिलो सन्तानका रुपमा थियागोलाई जन्म दिए । मेसीले आफ्नो पिडुँलामा थियागोको नाम र हातका रेखाको ट्याटु समेत खोपाए ।

‘अहिले मेरा लागि यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो,’ जनवरी २०१३ मा स्पेनी अखबार एल पेरिओडिको डे क्याटालुन्यासँगको अन्तर्वार्तामा थियोगोबारे मेसीले भनेका थिए, ‘धेरै हिसाबमा मेरो जीवन नै परिवर्तन भएको छ ।’

पछि सन् २०१५ सेप्टेम्बरमा उनीहरुको जोडीले अर्को सन्तान मातेओेलाई जन्म दिए । स्पोट्र्स इल्युस्ट्रेटेडसँगको कुराकानीमा मेसीले मातेओ र थियागोको जन्मले आफ्नो ‘जीवन नै परिवर्तन गरेको’ बताएका थिए । परिवारमा नयाँ सदस्यको आगमनसँगै आफू उत्साहित रहेको उनी बताउँछन् ।

त्यसबेला उनले भनेका थिए, ‘मेरो जीवन शान्त छ, थियागोलाई स्कुल पुर्‍याउनु, अभ्यासमा जानु, घरमा माते पिउनु, पार्क वा कतै केटाकेटी र एन्टोसँग समय बिताउनु… यस्तै जीवन हामीले चाहेको हो ।’

दुई सन्तानका पिता बनिसकेपछि मेसीले रोकुजोसँग सन् २०१७ मा धुमधामका साथ बिहे गरे । अर्जेन्टिनाको रोजारियोमा रहेको होटेलमा आयोजित भव्य विवाह समारोहमा यो जोडीले लगनगाँठो कसेको थियो । यो बिहे यति भव्य थियो कि क्लारिन अखबारले यो समारोहलाई ‘शताब्दीकै विवाह’ कै संज्ञा दिएको थियो ।

बीबीसीले पनि यो समारोह अत्यन्तै भव्य भएको जनाएको छ । उनीहरुको विवाहमा २ सय ६० जना पाहुना बोलाइएको थियो ।

मेसीको विवाह समारोहको सुरक्षाका लागि सयौँ प्रहरी पनि खटाइएको थियो । उनीहरुको बिहेमा त्यसबेला बार्सिलोनाबाट सँगै फुटबल खेलेका जेरार्ड पिके, उनकी पत्नी कोलम्बियन गायिका शकिरा, नेयमार, लुइस स्वारेजको पनि सहभागिता थियो ।

विवाहमा आएका पाहुनालाई हेर्न र उनीहरुको स्वागत गर्न एअरपोर्टदेखि नै मानिसहरुको भीड जम्मा भएको थियो ।

बिहे गरेको छोटो समयमा नै मार्च २०१८ मा यो जोडीले तेस्रो सन्तानका रुपमा सिरोलाई जन्म दिए । सोसल मिडिया इन्फ्लुएन्सर र मोडलको काम गर्दै आएकी रोकुजोले आफ्ना तीन वटै सन्तानको नामको ट्याटु खोपाएकी छिन् । उनले थियागोको नाम दायाँ हातमा, मातेओको नाम बायाँ हातमा र सिरोको नाम बायाँ नारीमा खोपाएकी छिन् ।

मेसीले पनि सामाजिक सञ्जालमार्फत् आफ्ना छोराहरु र परिवारको तस्वीर सार्वजनिक गर्दै आएका छन् ।

विवाहपूर्व होस् वा विवाह गरिसकेपछि मेसीले आफ्नो प्रेम सम्बन्धलाई सकेसम्म गोप्य नै राख्दै आएका छन् । तर, जब कुनै अन्तर्वार्ता वा कुराकानीमा आफ्नी पत्नीबारे मेसीलाई सोधिन्छ, उनले रोकुजोको प्रशंसा मात्रै गरेको सुनिन्छ । यसबाट उनीहरु सुखद दाम्पत्य जीवन बिताइरहेको स्पष्ट हुन्छ ।

‘सत्य कुरा के हो भने मलाई उनको सबै कुरा मनपर्छ,’ सन् २०१९ मा मार्कालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘उनीसँग धेरै गुण छन्, उनको व्यक्तित्व, उनको दैनिक जीवन, उनको मुड सधैँ राम्रो हुन्छ, समग्रमा भन्दा उनी धेरै बाठी छिन् र जीवनका सबै सबै क्षेत्रमा उत्तिकै अब्बल छिन् ।’

मेसीले अमेरिकामा व्यवसायिक फुटबल खेल्ने भएपछि सन् २०२३ मा यो जोडी अमेरिकाको मियामी सरेको छ । उनीहरुले फोर्ट लौडरडेलमा एक करोड १० लाख डलर पर्ने वाटर फ्रन्टसहितको विलासी घर किनेका छन् । उनीहरु आउँदा दिनहरु फ्लोरिडामै बिताउने सोचमा छन् ।

यससँगै उनीहरुको जोडीले अब के गर्छ भन्ने चासो छ । सन् २०२३ को सेप्टेम्बरमा मेसीले एक अन्तर्वार्ताका क्रममा रोकुजो चौथो सन्तानलाई जन्म दिने विषयमा खुलासा गरेका थिए ।

‘हामी फेरि बच्चा जन्माउन चाहन्छौँ,’ ओल्गा स्ट्रिमिङलाई दिएको अन्तरवार्तामा मेसीले भनेका छन्, ‘हामीले खोजेका त होइनौँ तर छोरी होस् भन्ने हाम्रो चाहना हो ।’


Last Updated on: February 26th, 2024 at 7:51 pm
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया