शनिबार १२ साउन २०८१

त्रिदेशीय टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्ड्सविरूद्ध ६ विकेटको सानदार जित निकालेको छ।

त्रिवि मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो।

नेपालका लागि कुशल मल्ल २ र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर नट आउट रहे।

त्यसअघि कप्तान रोहित पौडेलले ४६ रनको योगदान गरे। १४.३ ओभरमा भिभियन किंग्माबाट आउट हुनुअघि उनले ३४ बलमा ३ चौका र एक छक्का प्रहार गरे।

त्यस्तै आर्यन दत्तबाट बोल्ड हुनुअघि गुल्सन झाले ३८ रन जोडे । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यसअघि ओपनर कुशल भूर्तेल र आशिफ शेख तेस्रो ओभरमा आउट भएका थिए।

ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सका भिभियन किंग्माले भान देर गंग्टेनबाट क्याच आउट गराए। किंग्माले पाचौं बलमा आशिफलाई बोल्ड गरेका थिए।

८ बल खेलेका कुशलले १ चौका र १ छक्का प्रहार गरी १२ रन बनाउँदा ८ बल खेलेका आशिफले १ चौका प्रहार गरी ८ रन जोडेका थिए।

नेदरल्याण्ड्स १२० रनमा अल आउट

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई नेपालले १२० रनमा अल आउट गरेको थियो।

अन्तिम ओभरको तेस्रो बलमा आशिफ शेखले भान देर मेर्वीलाई रन आउट गरेपछि नेदरल्याण्ड्स १२० रनमा समेटिएको थियो।

आजको खेलमा डच ब्याटरविरूद्ध नेपाली बलर हाबी भएको थियो। नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्सका अधिकांश ब्याटर निरीह साबित भए।

नेपालले सुरूको ओभरमै विकेट लिएर नेदरल्याण्डमाथि दबाब सिर्जना गरेको थियो।

पहिलो ओभर लिएर आएका करण केसीले चौथो र अन्तिम बलमा नेदरल्याण्ड्सका ओपनरद्वय माइकल लिभिट र सिब्रान्ड एंगलब्रेक्टलाई आउट गरे।

त्यसपछि नवौं ओभरमा प्रतिश जिसीले कप्तान स्कट एडवार्ड र म्याक्स ओ’डडलाई बोल्ड गरेका थिए। स्कटले १८ रन र म्याक्स ओ’डडले ३१ रन जोडेका थिए।

लगत्तै दसौं ओभरको अन्तिम दुई बलमा कुशल मल्लले नोओ क्रोएस र आर्यन दत्तलाई बोल्ड गरे। क्रोयशले ३ रन जोड्दा आर्यन शून्य रनमै आउट भएका थिए।

खेलको १५ औं ओभरको तेस्रो बलमा पुनः प्रतिशले विकेट लिए। उनले नेदरल्याण्ड्सका तेजा निदामनुरूलाई बोल्ड गरे। १४ बल खेलका निदामनुरू ५ रन बनाएर आउट भएका थिए।

त्यसपछि १८ औं ओभरको चौथोबलमा दिपेन्द्रसिंह ऐरीले विकेट लिए। उनले ओभरको चौथो बलमा टिम भान देर गुग्टेनलाई सोमपाल कामीबाट क्याच आउट गराएका थिए भने पाचौं बलमा काइल क्लेनलालाई गुल्सन झाले रन आउट गरे।

अन्तिम ओभरको तेस्रो बलमा भिभियन किंग्मालाई कुशल भूर्तेल र आशिफ शेखले रन आउट गरेपछि नेदरल्याण्ड्स १२० रनमा अल आउट भएको हो।

नेदरल्याण्ड्सका लागि टिम भान गुग्टनेले २४ र रोइलफ भान देर मेर्वीले नट आउट २३ रन जोडेका थिए। म्याक्स ओ’डडले ३१ र कप्तान स्कट एडवार्डले १८ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जितसँगै नेपालले सिरिजको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ।

अंक तालिकामा नेपाल र नेदरल्याण्ड्सको समान ४/४ अंक भएको छ। भोलिको खेलमा नामिबियालाई नेदरल्याण्ड्सले हराउन सके नेपाल फाइनलमा पुग्नेछ।

भोलिको खेलमा नेदरल्याण्ड्स पराजित भएमा रन रेटका आधारमा फाइनल खेल्ने टिमको टुंगो लाग्नेछ।


Last Updated on: March 2nd, 2024 at 3:28 pm
४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया