शनिबार १२ साउन २०८१

इटहरी । होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई छन् ।

उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो । ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार गोकर्णेश्वर नगरपालिका–५ शिवचोकमा उनले कालिञ्चोक स्टाफ होटल तथा खाजा घर सञ्चालन गरिरहेका थिए । फुयाँलका अनुसार उक्त होटलबाट दुई जना नाबालिकालाई उद्धार गरिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार राईले आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई होटलमा ल्याउने गरेका थिए । ग्रामीण भेगका ती नाबालिका कम पढे लेखेका हुन्थे । उनले खाजा घरमा ल्याएर सरसफाइको काम लगाइ दिने, आकर्षक तलब–सुविधा दिन्छु भन्ने गरेका थिए ।

‘सुरूमा सफाइको काममै लगाउँथे, पछि फकाएर खाजा घरमा आएका ग्राहकसँग मादक पदार्थ सेवन गराउँथे,’ ब्युरो प्रवक्ता फुयाँल भन्छन्, ‘ग्राहकहरूसँगै खाने–बस्ने र बढी बिल उठाउने काममा लगाउने गरेको खुलेको छ ।’ राईले खाजा घरमा आउने ग्राहकलाई बालिकाहरू रोज्न लगाउँथे । रोजेकी बालिकालाई शारीरिक सम्पर्क राख्न दबाब दिन्थे ।

‘बालिकाहरूलाई खाजा घरमा कोठा निर्माण गरी सोही स्थानमा र ग्राहकको माग तथा परिस्थिति अनुसार पहिल्यै रकम लिई अन्यत्र समेत बेश्यावृत्तिका लागि पठाई आर्थिक लाभ खाजा घर सञ्चालकले लिने गरेको खुल्न आएको छ,’ फुयाँलले भने । यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको उनले बताए । राईलाई अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसन्धान थालिएको छ ।


Last Updated on: March 14th, 2024 at 8:26 am
८१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया