शनिबार १२ साउन २०८१

काठमाडौँको पशुपति क्षेत्रस्थित जंगलमा मृत भेटिएकी १९ वर्षीया सुस्मिता थापाको साथमा ‘सुसाइड नोट’ (आत्महत्या पत्र) फेला परेको छ।

गौशालास्थित महानगरीय प्रहरी वृत्तका डीएसपी केशव थेवेले सुसाइड नोट फेला परेको पुष्टि गर्दै त्यस विषयमा अनुसन्धान भइरहेको बताए।

‘घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ’, डीएसपी थेवेले शनिबार बिहान नेपालखबरसँग भने, ‘त्यसमा के लेखिएको छ भन्ने कुरा अहिले खुलाउन मिल्दैन, साथै त्यो सुसाइड नाेट उनैले लेखेको हो/होइन भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दै छौँ।’

प्रहरीका अनुसार शुक्रबार पशुपति क्षेत्रको गोरखनाथ मन्दिरनजिकै जंगलमा रुखमा झुन्डिएको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा बस्ने सुस्मिता मृत भेटिएकी हुन्।

डीएसपी थेवेका अनुसार सुस्मिता कपनमै रहेको रिलायन्स कलेजमा प्लस टु पढ्थिन्।

‘उनी कोठाबाट कलेज जान्छु भनेर हिँडेकी रहिछन्’, उनले भने, ‘तर २ दिनपछि उनी जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिइन्।

शुक्रबार बिहान मर्निङवाकमा गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

‘अहिलेसम्मको अनुसन्धानबाट उनले आत्महत्या नै गरेको जस्तो देखिन्छ’, डीएसपी थेवेले भने, ‘हामी थप अनुसन्धानकै गर्दै छौँ।’

प्रहरीका अनुसार पोस्टमार्टमका लागि किशोरीको शव त्रिवि शिक्षण अस्पतालमा छ।

घटना अनुसन्धानका क्रममा अहिलेसम्म कोही पक्राउ नपरेको डीएसपी थेवेले बताए।


Last Updated on: March 16th, 2024 at 5:20 pm
११०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया