शनिबार १२ साउन २०८१

काठमाडौं । नेपालमा ब्युटीपार्लर सञ्चालन गरिरहेकी एक महिला कुवेतमा बेचिएकी छिन् ।

आकर्षक कमाइको प्रलोभनमा परी दुबई हिँडेकी ती महिला कुवेतमा बेचिएकी हुन् । उनलाई दुबई लैजाने भनेर कुवेत पुर्‍याएर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेसँगै घटनाबारे रहस्य खुलासा भएको हो ।

पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाल छन् । उनले दुबईको पार्लरमा आकर्षक तलव हुने काममा पठाईदिने प्रलोभनमा पारी ती महिलालाई कुवेतमा पुर्‍याई बेचबिखन गरेका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–५ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार कटुवालले नेपालमा ब्युटीपार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलव र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको, भिषा टिकट लगायतको प्रक्रियाहरू गर्नका लागि १ लाख ५० हजार रूपैयाँ लिएको, दुबई पठाइदिने भनी झुक्याई कुवेत पुर्‍याई बन्धक बनाएको समेत प्रारम्भिक अनुन्धानको क्रममा खुल्न आएको छ ।

साथै कुवेतमा पुगेपश्चात एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोबाइल र नेपाली राहदानी समेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो ।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नाका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको बताइएको छ ।


Last Updated on: March 16th, 2024 at 6:01 pm
३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया