बिहिबार ३१ जेठ २०८१

कोमामा पुगेको बिरामी प्राय: फर्कंदैनन् भन्ने धेरैले सोचेका हुन्छन् । त्यसैले कोमामा पुगेकाहरुलाई ‘जिउँदो लास’ भनेको सुनिन्छ । जसकारण धेरैले आफ्नो कोही व्यक्ति कोमामा पुगेपछि फर्किने आश नै मारिसकेका हुन्छन् ।कोमामा रहेको व्यक्तिले आफ्ना वरपर भएका घटना तथा क्रियाकलापका साथै परिवर्तन तथा समस्याबारे समेत प्रतिक्रिया जनाउन सक्दैनन् । हामीमध्ये धेरैलाई कोमा उपचारको विकल्प नभएको अवस्था हो भन्ने लाग्छ । उसो भए के साँच्चिकै कोमामा पुगेको व्यक्ति फर्किन सक्छन् ?

के हो कोमा ?
शरीरले आन्तरिक तथा बाह्य आवश्यकता पूरा गर्न नसक्ने अवस्थालाई कोमा भनिन्छ । कोमा मस्तिष्क अचेत अवस्थामा पुगी लामो समयसम्म बेहोसी अवस्थामा रहनु हो । जब कोही कोमामा पुग्छन्, उसलाई वरपर के भइरहेको छ थाहा हुँदैन। मान्छे जिउँदै हुन्छ । तर हेर्दा गहिरो निद्रामा पुगेको जस्तो देखिन्छ । तर कोमामा रहेको व्यक्तिको श्वासप्रश्वास बिस्तारै चलिरहेको हुन्छ । मस्तिष्कमा दुर्लभ गतिविधि पनि देख्न सकिन्छ। मस्तिष्क बाहेक शरीरका अन्य अंगहरु जस्तै मिर्गौला, कलेजो, फोक्सो, मुटु लगायतले काम गरिरहेको हुन्छ ।

कारण

कोमा हुने विभिन्न कारण हुन्छन् । जसमध्ये एक हो, ट्रमाटिक ब्रेन इन्जुरी । सडक दुर्घटना वा हिंसात्मक घटना हुँदा मस्तिष्कमा चोटपटक लाग्न सक्छ । यसबाहेक मस्तिष्कमा गहिरो घाउका कारण पनि यो अवस्था उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा मस्तिष्कभित्रको नसा फुट्छ र रगत बग्न थाल्छ । कहिलेकाहीं टाउको फुटेर मस्तिष्कको कोषिकाहरूमा पनि प्रवेश गर्न सक्छ ।

त्यस्तै ब्रेन ट्युमर, मधुमेह, कुनै कारणले शरीरमा अक्सिजन नपुग्नु, हृदयघात भइसकेको व्यक्तिलाई अक्सिजन अपुग हुँदा, इन्सेफलाइटिस र मेनिन्जाइटिस जस्ता संक्रमणले मस्तिष्क र मेरुदण्डको वरपरका तन्तुहरू सुन्निन्छन् । यी संक्रमणको गम्भीर अवस्थामा मस्तिष्क क्षति वा कोमा हुन सक्छ । शरीरमा विषाक्त पदार्थ जम्मा भएमा जस्तै कार्बनडाइअक्साइड उच्च भएर रगतमा मिसिएर मस्तिष्कघात र कोमामा पुग्न सक्छन् । मदिरा र लागुऔषधको ओभर डोजले पनि कोमामा पुग्ने सम्भावना जस्ता धेरै अवस्थाका कारण व्यक्ति कोमामा पुग्छ ।

कोमामा यसरी राखिन्छ

कोमामा पुगेको व्यक्तिको कार्यप्रणालीले काम गर्न नसक्ने हुँदा कृत्रिम मेसिनको सहाराबाट आवश्यक तत्व दिइन्छ र चिकित्सकको उच्च निगरानीमा नै उपचार सुरु हुन्छ । अक्सिजन दिन सिलिन्डर, पोषणका लागि पाइप, सल्यान, भेन्टिलेटर जस्ता सामग्री दिएर राखिन्छ ।

पहिचान तथा उपचार

कोमामा पुगेको हो वा होइन भनेर प्रभावित व्यक्तिको एबीसी (श्वासप्रश्वास, सास र यसको सञ्चार) बुझिन्छ । त्यसपछि मुटु, कलेजोदेखि महत्वपूर्ण अंगबारे सिटिस्क्यान, एमआरआईबाट हेरेर कोमामा के कारणले पुगेको भनेर पत्ता लगाइन्छ ।

कोमामा पुगेको निर्क्योल भएपछि त्यसको आधारमा उपचार गरिन्छ । पहिला सास फेर्न र रक्तसञ्चार कायम राख्न मद्दत गरिन्छ । त्यसपछि सास फेर्न सहयोग गर्न नसामार्फत औषधि र अन्य सहायक आवश्यक चीज दिन सक्छन् । मस्तिष्क सुन्निएको कारणले हो भने मस्तिष्कमा दबाब कम गर्न एक प्रक्रिया वा औषधि आवश्यक हुन सक्छ । हातको नसाबाट ग्लुकोज वा एन्टिबायोटिक दिइन्छ । धेरै कम चिनीको स्तर छ वा मस्तिष्कलाई असर गर्ने संक्रमणको अवस्थामा रगत परीक्षणको नतिजा आउनुअघि नै यी औषधि दिइन्छ ।

यदि कोमा ड्रग ओभरडोजको परिणाम हो भने सामान्यतया यो अवस्थाको उपचार गर्न औषधि दिन्छन् । यदि कोमा हृदयघातको कारण हो भने औषधिले नियन्त्रण गर्न सक्छ । अन्य उपचारले मधुमेह वा कलेजो रोग जस्ता रोगका लागि विशेष औषधि वा उपचारमा केन्द्रित हुन सक्छ ।

कोमामा पुगेको व्यक्ति फर्किन सक्छन् ?

चिकित्सा विज्ञानमा अहिलेसम्म त्यस्तो कुनै प्रणाली छैन, जसले बिरामी कहिले कोमाबाट निस्कन्छ भनेर बताउन सक्छ । कहिले कोमाबाबाट बाहिरिन्छ भन्ने सम्भावना कोमाको कारणमा निर्भर गर्छ । यदि रोगको समाधान गर्न सकिन्छ भने व्यक्ति प्रायः आफ्नो सामान्य काम गर्ने सक्ने स्तरमा फर्कन सक्छ । मस्तिष्कमा गम्भीर क्षति पुगेको छ भने कोमाबाट फर्किन नसक्ने अवस्थामा पनि पुग्न सक्छ । टाउकोमा चोटपटक लागेर कोमामा पुगेको व्यक्ति निको हुने दर उच्च हुन्छ । कोमाबाट फर्किने संकेत उनीहरुको व्यवहारबाट पत्ता लगाउन सकिन्छ ।

कोमाबाट बाहिर आउन सक्ने ४ अवस्था

कोमामा पुगेपछि कति समयमा बिरामी बाहिर आउँछ भन्न मुश्किल भए पनि केही कुराले सुधार भइरहेको संकेत पनि दिन्छ ।

पहिलो चरण : प्रतिक्रिया नदिने

कुनै पनि प्रतिक्रिया नदिने समयलाई पूर्ण कोमामा व्यक्ति छ भन्ने बुझिन्छ । तर यो समयमा कुनै खास कारणबिना प्रतिक्रिया र अनियमित हलचल भएको देख्न सकिन्छ ।

दोस्रो चरण : प्रारम्भिक प्रतिक्रिया

यस चरणमा बिरामीले प्रतिक्रिया दिन सुरु गर्छ । तर प्रतिक्रियाहरू कम, अनियमित र सुस्त हुन सक्छन् । केही प्रारम्भिक प्रतिक्रियामा आवाज दिने, छुनेजस्ता क्रियाकलाप गर्दा हात चलाउने, आँखा खोल्ने र बन्द गर्ने जस्ता गतिविधि गर्न थाल्छन् ।

तेस्रो चरण : निरन्तर हलचल र भ्रम

यस चरणमा कोमामा पुगेको व्यक्तिले लगातार प्रतिक्रिया दिन सक्छ । उसलाई आफू कहाँ छु र के भइरहेको छ भन्ने थाहा हुँदैन । तर आक्रोश, छटपटी पोख्ने र दाह्रा किट्ने भने गर्न सक्छन् ।

चौथो चरण : प्रतिक्रिया उच्च

यस चरणमा बिरामीले बिना कठिनाइ नियमित काम पूरा गर्न सक्षम हुन सक्छ । यद्यपि, उनीहरु अझै पनि समस्या समाधान, निर्णय र निर्णय लिन सक्ने कुरामा कठिनाइ हुन सक्छ । यस चरणमा उनीहरूको सीमितताबारे पूर्ण रूपमा थाहा नहुन सक्छ । आफन्तजनले यो चरणमा व्यक्तित्वमा केही असामान्य परिवर्तन पनि देख्न सक्छन् ।निको हुने प्रक्रिया सबैको लागि फरक हुन्छ र केही बिरामीहरू एक चरणमा अर्कोभन्दा लामो समयसम्म रहन सक्छन् ।


Last Updated on: March 19th, 2024 at 7:13 pm
२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया