शनिबार १५ बैशाख २०८१

काठमाडौं : गत बुधबार धरान-१८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपो स्कुलबीचमा रहेको एकान्त खोल्सामा एक युवती मृत भेटिइन्।

बाख्रा चराउन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सोही दिन मृतकको पहिचान खुलायो, धरान १६ की २१ वर्षीय सुमना श्रेष्ठ।

प्रहरीले तीन दिनपछि मृतक सुमनाको हत्यामा संलग्नलाई समात्यो।

इलाका प्रहरी कार्यालय धरानमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी बाबुराम भुजेललाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले त्यस घटनामा समातेका बाबुराम उनका प्रेमी भएको जानकारी दिएको छ।

प्रहरीका अनुसार सुमना र बाबुरामबीच २ वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध थियो तर गत पुसमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने प्रदिप श्रेष्ठसँग उनी नजिकिएकी थिइन्। सोही कुरा थाहा पाएका बाबुराम र सुमनाबीच विवादको श्रृंखला सुरू भएको थियो।

चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मूलघाटमा गएका थिए। त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको प्रहरीले जनाएको छ।

भुजेल धनकुटामा हुँदै हत्याको योजना बनाएको बताइएको छ।

प्रेममा खटपटपछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए। साँझदेखि नै भेटघाट गरी बाबुरामले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवैजना पुगेको प्रहरीको दावी छ।

‘घटनास्थलमा निजहरूबीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि निज सबिन भन्ने बाबुराम भुजेलले योजनामुताबिक नै साथमा लिई गएको खुकुरी निकाली निज सुमना श्रेष्ठको घाँटी रेटी मारी खोल्सामा फाली सोही रात भागेको,’ प्रहरीले बतायो।

घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका-९ मूलघाटमा लुकेर बसेको अवस्थामा बिहीवार फेला पारेको हो।

भुजेलले सुमनाले प्रयोग गर्ने मोबाइल भने फुटाएर सिम खोलामा बगाएको र मोबाइल उनी आफैँले राखेका थिए। प्रहरीले उनको साथबाट फुटाएको मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका भुजेललाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए।


Last Updated on: March 23rd, 2024 at 8:29 am
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया