आइतबार २३ भाद्र २०८१

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना हुँदा क्याप्टेन शाक्य घाइते भए । उद्धारकर्ताहरूले उनलाई दुर्घटास्थलबाट उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका थिए । अहिले पनि केएमसीमा उनको उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा परी विमानमा सवार १८ जनाको मृत्यु भएको थियो । जीवितै उद्धार भएका क्याप्टेन शाक्य मात्रै हुन् । उनलाई उद्धार गरेलगत्तै केएमसी पुर्‍याइएको थियो । उद्धार गर्दा उनी बोल्न सक्ने अवस्था थिए । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा पनि उनी बोल्न सक्ने अवस्थामा थिए ।

शाक्यको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको अनुहारमा गहिरो चोट लागेको छ । उनको सीटी स्क्यान तथा एमआरआई पनि गरिएको छ । त्यसको रिपोर्टमा उनको मस्तिष्क केही सुन्निएको देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

अस्पतालका अनुसार उनको मेरुदण्डको एल २ भाग भाँचीएको छ भने आठौँ, नवौँ र दशौँ गरी तीनवटा करङ भाँचिएको छ । अहिले उनलाई आईसीयूमा राखेर उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।


Last Updated on: July 25th, 2024 at 8:09 am
५२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया