मंगलबार ०१ आश्विन २०८१

रोल्पामा घरसँगै पुरिएकी ७० वर्षीया बसुना सुनारको शव भेटिएको छ।

गएराति सुनछहरी गाउँपालिका-५ कामीडाँडामा देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा बसुना र छोरी चार वर्षीया किमा सुनार बेपत्ता भएका थिए।

खोजीका क्रममा शनिबार बिहान बसुना पुरिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले जानकारी दिए।

बसुनाकी नातिनी ४ वर्षीया किमाको अवस्था भने अझै अज्ञात छ। उनको खोजी भइरहेको डिएसपी लामाले जानकारी दिए।

खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा प्रहरीको टोली खटाइएको छ।

शुक्रबार राति माथिबाट झरेको पहिरोले ढुँगा माटोबाट बनेको देउसिंहको एक तले कच्ची घर पुरेको थियो ।

घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए। सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएका थिए।

शुक्रबार देउसिंह र उनकी श्रीमती भने घरमा थिएनन् । उनीहरू कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ।


Last Updated on: August 3rd, 2024 at 10:05 am
३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया