काठमाण्डौं– पशुपतिमा जारी कोटीहोममा एकपछि अर्का सुन्दरी कथा वाचिका आउने क्रम जारी छ। भारतमा बसेर प्रवचन दिईरहेकी देवी प्रतिभा १४ दिन बसेर फर्किएकै दिन बेलायताबाट अर्की कथावाचिका २६ वर्षीया चन्द्रकला सखी (सृष्टि अधिकारी) काठमाण्डौं आएकी छिन्।
उनी देवी प्रतिभा जस्तै दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउने गरी रामकथा बाचन गरिरहेकी छिन्। बुधबारदेखि ब्यासबाट कथा वाचन गरिरहेकी चन्द्रकलालाई नेपाली संस्कृति र परम्पराको पनि राम्रो ज्ञान रहेको उनको प्रश्तुतीमा देखिन्छ। उनको घर पनि काठमाण्डौं नै हो।
नेपालकै पहिलो महिला रामचरितमानस र भक्तमाला कथा वाचिका चन्द्रकलाले दर्शकलाई आफनो बाचन कलाले मोहित बनाईरहेकी छिन्। यति मात्रै होईन, उनको प्रश्तुतीले कुनै कुनै वेला दर्शक श्रोतालाई भावुक पनि बनाइरहेको छ।
तर, कथा वाचन थालेको दिनदेखि नै उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन्। बुधबार कथा वाचनका क्रममा उनले गोरुको प्रिय भोजन मयूर भन्दिएपछि उनलाई समाजिक सञ्चालमा ट्रोल बनाईएको छ। बुझ्ने/नबुझ्ने दुवै थरीले चन्द्रकलालाई हाँसोको पात्र बनाएका छन्।
‘शिवजीले गलामा के लगाउनुहुन्छ ? सर्प धारण गर्नुहुन्छ। शिवजीको बहान गोरु हुनुहुन्छ। माता पार्वतीको बहान सिंह हुनुहुन्छ। कार्तिकेयको बहान हो मयूर। गणेशजीको बहान मुसा हो। पार्वतीको बहान सिंह जो छ, साइन्स (विज्ञान) मा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो।’ प्रवचनका क्रममा उनले भनेकी थिईन– ‘गोरुको अत्यन्त प्रिय भोजन मयूर हो। त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने मुसा हो। तर, शिव परिवारभित्र एक–आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेक जातजाति छौँ, सबै मिलेर बस्न सक्छौं, बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ?’
यही प्रवचनको केही अंश काटेर अहिले चन्द्रकलालाई हाँसोको रुपमा उडाईएको छ। ‘गोरुको प्रिय भोजन मयूर’ भनेको प्रसंगलाई लिएर एकथरी तप्काले चन्द्रकलालाई बेबकुफका रुपमा उडाएका छन्।
उनको आसय एकले अर्कालाई खान सक्ने, जीवन नै समाप्त गरिदिन सक्ने प्राकृतिक संरचना भए पनि उनीहरू एकसाथ मिलेर बस्न सक्ने अर्थमा उक्त कुरा झिकेकी थिइन्। तर, उक्त लामो कथाबाट ‘गोरुको खाना मयूर’ भनेको कुरा मात्रै अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर, नेपाल प्रज्ञा प्रतिष्ठानको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ ले भने मयूरलाई एक फूलका रुपमा अर्थ्याएको छ। शब्दकोषमा ‘मयूर’को अर्थ ‘फूल’सँगै पुराणअनुसार सुमेरु पर्वतत्रिको एक पर्वतका रुपमा पनि अर्थ लगाइएको छ। त्यस्तै उक्त शब्दकोशले मयूरलाई अर्को नाममा ‘मुजुर’ पनि भनेको छ। मुजुर भन्नाले पंक्षी भनेर बुझिन्छ। त्यही शब्दकोशले मयूरबाट ‘सूर्यशतक’का रचयिता एक कवि भनेर पनि उल्लेख गरेको छ।
यसरी शब्दकोष अनुसार मयूरको अर्थ फूल हो भन्ने नबुझेकाहरुले चन्द्रकलालाई अल्पज्ञानी भनिरहेका छन्। कतिपयले भने पुराणको समयभन्दा पहिले गोरु मांसाहारी रहेको हुन सक्ने पनि अनुमान गरेका छन्। चन्द्रकलाले कुन स्रोत प्रयोग गरेर ‘गोरुको भोजन मयूर हो’ भनिन् भन्ने कुरा चै खुलेको छैन।
बरु उनले बुधबार बोलेको आफ्नो कुरालाई लिएर सामाजिक सञ्जालमा बहस भएको थाहा पाएपछि गल्ती स्वीकार्दै स्पष्टिकरण दिएकी छिन्। उनले प्रस्ट भाषामा त केही भनिन् तर घुमाउरो पारामा आफुले सन्तजनको कृपा प्रसाद मात्रै प्रस्तुत गरिरहेको बताइन् । ‘मैले हिजो पनि भनेँ, म कुनै विद्वान होइन । म कुनै पण्डित वा विदुषी होइन । सन्तजनको कृपा प्रसाद मात्रै यहाँहरूसमक्ष प्रस्तुत गर्दैछु’ उनले भनिन्–‘जसकारण यहाँ प्रस्तुत गर्ने क्रममा कहीँ कतै त्रुटि हुन सक्लान्। तिनलाई हजुरहरूले सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला।’
उनले नम्र शैलीमा आफु विदुषी नभएकोले सानोतिनो त्रुटिहरू हुन सक्ने कुरालाई स्पष्ट रुपमा राखिन। ‘बोल्दा कहिलेकाहीँ जिब्रो चिप्लिन सक्छ, त्यस्ता कुरालाई गम्भीर भएर ध्यान नदिनु होला ।’