
काठमाडौं : लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रूपमा मनाउने भएको छ ।
यही माघ २१ गते सोमबार प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन लागेको हो । स्थापना दिवसको अवसरमा प्रदेश प्रमुखको विशेष उपस्थितिमा मूल समारोह आयोजना गर्ने तयारी गरिएको छ । बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरूका स्टलहरू समेत राखिने छन् ।
स्थापना दिवसलाई भव्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दीपावली गरी मनाउने कार्यक्रम रहेको छ । शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।
प्रथम हुने झाँकीलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो ।
प्रदेश सरकारले दुई वटा दिवसलाई एकै दिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउन थालिएको हो ।