बुधबार ३० माघ २०८१

जनकपुर– महोत्तरीको गौशाला नगरपालिका–८ का अभिषेक यादवकी पत्नि २१ वर्षीया खुश्बु यादवको शनिबार राति विभत्स हत्या भयो।

धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव आईतबार विहान गौशाला नगरपालिका–५, विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तरपटी खेतमा फेला पर्यो।

धारिलो हतियारले उनको दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको छ भने घाँटीको केही भागमा पनि घाउ लागेको प्रहरीले जनाएको छ। महोत्तरी प्रहरीका डीएसपी सन्तुलाल जैसवारका अनुसार शनिवार राति पतिसँग विवाद भएपछि घरबाट निस्किएकी उनी फेरी घर फर्केर आईनन्। एकै पटक उनको शव फेला पर्यो।

हत्या कस्ले र किन गर्यो एकिन भएको छैन। तर, खुश्वुको हत्यामा उनका पति अभिषेककै संलग्नता रहेको माइती पक्षले आरोप लगाएका छन्। खुश्वुको हत्या भएपछि अभिषेक फरार छन्। हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतोको आशंका छ।

डीएसपी जैसवालका अनुसार विवाह भएदेखि नै पतिपत्नीबीच दाइजोको निहुँमा झगडा हुँदै आएको स्थानीयले बताएका छन्। खुश्वुको माइतीघर महोत्तरीकै सम्सी गाउँपालिका– १ पर्सादेवाड हो। लक्ष्मण यादवकी छोरी खुश्बुको गएको ७ मंसिरमा गौशाला–८, बेलगाछी निवासी चन्देश्वर यादवका छोरो अभिषेकसँग भएको थियो।


Last Updated on: February 3rd, 2025 at 9:14 am
३९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design