बुधबार ३० माघ २०८१

ताइवानी अभिनेत्री बार्बी सु शियुआनको निमोनियाका कारण मृत्यु भएको छ। ४८ वर्षीया सुलाई जापान यात्राको क्रममा फ्लुले समातेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

टिभी नाटक मेटोर गार्डेनमार्फत सुले हङकङमा पनि लोकप्रियताका कमाएकी थिइन्।

ताइवानी स्टारको जापानमा मृत्यु भएको समाचार आइतबार सार्वजनिक भएको थियो। सोमबार एक विज्ञप्ति निकाल्दै उनको परिवारले यसलाई पुष्टि गरेको छ।

आफ्ना म्यानेजरद्वारा हस्ताक्षरित विज्ञप्तिमा अभिनेत्रीकी बहिनी डी सुले भनेकी छन्, ‘हाम्रो परिवार नयाँ वर्षको बिदा मनाउन जापानमा थियो। यसै क्रममा मेरी सबैभन्दा प्यारी र दयालु दिदीलाई फ्लु भयो। जसले निमोनिया निम्त्यायो र दुर्भाग्यवश हामीबाट चुडेर लग्यो।’

विज्ञप्तिमार्फत सुले मृतआत्माको शान्ति कामना पनि गरेकी छन्। ‘हामीबीच एकअर्कालाई हेरचाह गर्ने र साथ दिने ठाउँमा उनलाई मेरी दिदीको रूपमा पाएकोमा म सधैँ आभारी रहनेछु,’ बहिनी सुले भनेकी छन्, ‘म सधैँ उनलाई धन्यवाद दिनेछु र सम्झिरहनेछु। मृतआत्मालाई शान्ति मिलोस्। सदा सदा सम्झना।’

सन् १९७६ मा जन्मिएकी बार्बी सुले १९९० को दशकको सुरुआतमा डी सुसँग मिलेर पप समूह ‘एसओएस’ गठन गरेकी थिइन्, जसलाई ‘स्मल एस’ पनि भनिन्छ। यो जोडीले धेरै गीत र एल्बमहरू ल्याएको थियो।

ताइवानी सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सुको शव जापानमै दाहसंस्कार गरिनेछ र खरानी ताइवान लगिनेछ। बिदाइ समारोह कहिले गर्ने भन्ने चाहिँ छलफलमै छ।


Last Updated on: February 3rd, 2025 at 11:32 am
४८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design