शनिबार १२ साउन २०८१

म्युजिक भिडियोका सफल निर्देशक हरि हुमागाँइले फिल्म बनाउने तयारी गरिरहेका छन् । उनी, लामो समयदेखि नयाँ फिल्मको प्रि प्रोडक्शनमा व्यस्त बनेको बुझिएको छ ।

हरिले निर्देशन गर्न लागेको नयाँ फिल्ममा चर्चित र्‍यापर भिटेनले अभिनय गर्ने पक्का भएको छ । उसो त, भिटेनले फिल्म ‘रत्नपार्क’मा पनि काम गर्ने पक्का भएको थियो । तर, यो फिल्मको निर्माण अझै पनि सुरु हुन सकेको छैन ।

यो फिल्ममा नायिकाको रुपमा उपासना सिंह ठकुरीले पनि काम गर्ने पक्का भएको बुझिएको छ । भिटेन र उपासनाले पहिलो पटक पर्दा सेयर गर्न लागेका हुन् । फिल्ममा भिटेनले नै तयार पारेका पाँच गीत समावेश हुनेछन् ।

यो फिल्मको छायांकन अबको केही महिनामा सुरु हुनेछ । फिल्मको कथावस्तुको बारेमा केही पनि बताइएको छैन । यसअघि हरिले फिल्म ‘सरौटो’ निर्देशन गरेका थिए । प्राविधिक रुपमा बलियो रहेको यो फिल्म बक्स अफिसमा भने कमजोर रहन पुग्यो ।

नायिका उपासना सिंह ठकुरीले नायक धिरज मगरसँग अशोक थापाले निर्देशन गर्न लागेको नयाँ फिल्म पनि साइन गरिसकेकी छिन् । फिल्मको वर्किङ टाइटल ‘लाकुरी’ राखिएको छ ।


Last Updated on: December 17th, 2023 at 9:58 am
८८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया