शनिबार १२ साउन २०८१

काठमाडौं : पूजा शर्मा र पल शाहको सम्बन्धमा दरार आएको विषय अब ओपन सेक्रेट भइसकेको छ । पल जेलबाट निस्किएदेखि उनीहरु एक-अर्कासँग दूरी बनाइरहेका छन् । तर, यसको कारण भने खुलेको छैन ।

हालै पल शाहले आफ्नी बहिनी रजनीको विहेबारी गरे । विहेमा उनले आफू निकट केही कलाकारहरुलाई निम्त्याएका थिए । पूजालाई भने उनले निम्तो गरेनन् । पलकी बहिनीको बिहेमा पनि पूजा नदेखिनुले उनीहरुबीच सम्वन्धमा चिसोपना यथावत रहेको पुष्टि भएको छ । पलले आफूसँग निकट अर्की नायिका मलिका महतलाई निम्त्याएका थिए । उनी निम्तो मान्न गएकी पनि थिइन् ।

यसैबीच पूजाले एउटा युट्यूव च्यानललाई दिएको अन्तर्वार्तामा पल शाहसँगको सम्वन्धबारे पहिलोपटक मुख खोलेकी छन् । आफूहरु अहिले टाढिएको उनको स्वीकारोक्ति छ ।

पूजालाई पलकी बहिनीको बिहेमा नगएको विषयमा सोधिएको थियो । उनले आफूलाई बिहेको निम्तो नआएको बताइन् ।

‘मलाई दुई दिन अगाडि मात्रै थाहा भएको थियो । धेरैजनाले पलको बहिनीको बिहेमा नजाने भनेर सोध्नुभयो । मलाई त कार्ड नै आएको थिएन । कसरी जाने रु मान नमान मै तेरो मेहेमानजस्तो गर्नु त भएन नि,’ पूजाले गुनासो गर्दै भनिन् ।

पल शाहसँग त सम्वन्ध राम्रो छ नि भन्ने प्रश्नमा पूजा अन्कनाइन् । केहीबेर सोचेर उनले भावुक मुद्रामा भनिन्, ‘लाइफमा मसित सबैभन्दा धेरै नजिक र मैले एकदमै माया गरेको व्यक्ति हो ।’

त्यसपछि उनले थपिन्, ‘अहिले चाहिँ मनमनमै टाढैबाट माया गरिरहेको छु । एउटा कुराले सानो चित्त दुःखाइ भएको हो । कति कुराहरु नभन्दा पनि राम्रो हुन्छ । आफ्नो मान्छेले अलिकति नबझु्दा मन दुःखेको हो । आफ्नो मान्छेसँग त मन दुःख्छ नि ! अरुसँग त किन दुःख्ने ।’

पूजाले भविष्यमा फेरि आफूहरु नजिक हुन सक्ने बताइन् । ‘भेट्दा हाइहेल्लो भइ नै हाल्छ । उसको जहिले पनि राम्रो चिताउनेछु । दुःखमा साथ दिएको हुँ । अहिले उसको राम्रो छ, म खुशी नै छु’, उनले भनिन् ।

‘मलाई एउटा चिजले मनको कुनामा कस्तो हर्ट फिल भएको थियो । हामीले कति दुःखसुख बाँडेका छौं । दुःखमा सँगै रोएका छौं । उसले यतिमात्रै नगरेको भए हुन्थ्यो भन्ने हो । भोलि भेटें भने त्यो चिजलाई बिर्सिन्छु होला । कुराकानी गर्न फेरि पल-पूजा नै हुनसक्छ ।’

पल बलात्कार आरोपमा पक्राउ पर्दा पूजाले उनको पक्षमा खुलेर बोलेकी थिइन् । आफ्नो फिल्म रिलिजमा पललाई सम्झिएर धरधरी रोएकी थिइन् । पलको पक्षमा बोल्दा उनको निकै ट्रोल पनि भएको थियो । उनी पलको जन्मदिनमा केक लिएर जेलमै पुगेकी थिइन् ।

तर, पल जेलबाट छुटेपछि भने पूजा उनलाई भेट्न गइनन् । पलले पनि पूजालाई भाउ दिएनन् । बीचमा एक पटक एउटा अवार्ड उनीहरुले सँगै थापेका थिए । तर, खासै बोलचाल गरेनन् । पल अहिले आफ्नै काममा व्यस्त छन् ।


Last Updated on: December 17th, 2023 at 7:07 pm
४०८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया