शनिबार १२ साउन २०८१

धनगढी महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार हिजो (शनिबार) शाहको करिब ३ तोला (दाबी गरिएको) सुनको ब्रासलेट हराएको हो।

स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनी अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए। उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर शाहले ब्रासलेट हराएकोमा कुनै दुख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे।

यस्तै हिजोकै महोत्सव कार्यक्रममा उद्घोषकले पनि नायक शाहको ब्रासलेट हराएको जानकारी गराएका थिए। उता प्रहरीले भने ब्रासलेट हराएको विषयमा जानकारी नै नआएको जनाएको छ। त्यस्तै यस विषयमा बुझ्न नायक शाहलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन। शाह उनै नायक हुन्, जोविरुद्ध अदालतमा बलात्कारको मुद्दासमेत चलिरहेको छ।


Last Updated on: December 17th, 2023 at 9:02 pm
३०१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया