शनिबार १२ साउन २०८१

टीकापुर : रुस–युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका टीकापुरका भरतबहादुर शाहको कुशको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ ।

गत मङ्सिर ११ गते रुसको तर्फबाट युक्रेनको भूमिमा खटिएका बेला ड्रोन आक्रमणमा परी ज्यान गुमाएका शाहको मृत्यूको पुष्टि साथीबाट ढिलो भएकाले हिन्दू परम्पराअनुसार अन्तिम संस्कार थालिएको उनका बुबा कुलबहादुर शाहले बताए । शाहसँगै कार्यरत नेपाली साथीले शव गाडेको आफ्नै आँखाले देखेको बताएपछि मात्र विश्वास गरेर अन्तिम संस्कार भइरहेको छ । युद्ध भूमिमा रहँदा सम्पर्कविहीन भए पनि घाइते भएर अस्पताल पुगेका बेला शाहका साथीले नेपालमा सम्पर्कगरी जानकारी गराएका हुन् ।

शाह २०८० साउन ३० गते संयुक्त अरब इमिरेट्सको दुवईबाट एक हप्ताको लागि कमन टुरिष्ट भिषामा मस्कोस्थित निकुलीनस्कायामा गएका देखिएको छ । रुस पुगेर रुसी सेनामा प्रवेश गरेका शाहको ठेगाना संयुक्त अरब इमिरेट्सको अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी भनेर राखिएको छ ।

३६ वर्षका शाह साढे तीन वर्ष अघिदेखि दुबई पुलिसमा काम गरिरहनु भएको थियो । नेपालमा दश वर्ष ट्राफिक प्रहरीको जवान पदमा काम गरेका थिए । “मैले त द्वन्द्व भइरहेको ठाउँमा नजाऊ भनेको थिएँ, रुस पुगेपछि पनि फर्किहाल भनेको थिएँ, छोराले मानेन धोका भयो” बुबा कुलबहादुर शाहले भने, “मासिक चार लाख तलब हुन्छ छ, महिनापछि मासिक १८ लाख तलब हुने भनेपछि फर्काउन सकिएन छोराको ज्यानै गयो दलालले साढे चार लाख लिएर रुस पठाएको हो ।” मृतक शाहका चार वर्षको छोरा र डेढ महिनाकी छोरी छन् ।

शाहले रुस पुगेपछि दुईलाख ५० हजार रुपियाँ घर पठाएको र त्यहाँको अवस्था नाजुक भएकाले भाग्नु परेमा तयारी गर्ने भनेर अरु पैसा पठाएका थिएनन् । शाहसँग ३० जनाको समूह रहेको र त्यहाँ ठूलो संख्यामा नेपाली रहेका बताएका छन् । सरकारी निकायसँग कुनै सम्पर्क नभएको र ज्यान गएका शाहको बारेमा जानकारी गराउन र बालबच्चाको सहयोगका लागि रुस सरकारसँग क्षतिपूर्तिका लागि पहल गरिदिनुपर्ने सल्लाह भएको उहाँका छिमेकी कमलेश बोहराले बताए ।

शाहको मृत्यूको खबरले टीकापुर नगरपालिका –१ नयाँ टीकापुर गाउँ शोकमग्न छ । शाहको यात्रासम्वन्धी अन्य कागजात घरमा नरहेको र उनले बोकेको झोला रुसी सेनाका कमाण्डरको साथमा रहेको बताइन्छ ।


Last Updated on: December 18th, 2023 at 7:58 am
१३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया