आइतबार १० आषाढ २०८१

चार वर्षकी छोरी, एक वर्षका छोरा र वृद्धआमा गीताको जिम्मेवारी पत्नी रेखालाई छाडेर सन्तोष बस्नेत साउन ७ मा रुस पुगेका थिए । त्यसको १६ दिनपछि उनी रुसी सेनामा भर्ती भए । त्यसपछि युक्रेनको डोनेस्कमा ६९ दिन सैन्य तालिम लिएपछि ५ पटक युक्रेनविरुद्धको युद्धमा सहभागी भइसकेका छन् । तीन पटक त गोली नै खाइसकेका छन् । अहिले उनी सैन्य क्याम्पमा स्वास्थ्य लाभ गरिरहेका छन् । ‘गोली खाएपछि पूरै आराम गर्न पाएको छैन । अलिअलि खुट्टा टेक्नेबित्तिकै युद्ध लड्न पठाउँदो रहेछ,’ गीताले भनिन्, ‘हामीलाई पीरचिन्ता हुन्छ भनेर छोरो आफैं केही भन्दैन । साथीहरूसँग सोधखोज गर्नुपर्छ ।’

उनीहरू बस्नेतलाई जतिसक्दो छिटो सेनाबाट निकाल्न चाहन्छन् । अहिलेसम्म कतैबाट आडभरोसा मिलेको छैन । ‘लौन बाबु, हामी त मर्ने बेला भइसक्यो । तपाईंहरूको बोली लाग्छ,’ गीताले कान्तिपुरसँग भनिन्, ‘कतिलाई भनिसकियो । यता चिन्ताले बुहारी मर्ने भई ।’ झन् श्रीमान्ले बाँच्ने अवस्था एक प्रतिशत पनि नभएको खबर सुनाउँदा रेखाको ओठमुख सुकेको छ । ‘कतिखेर लडाइँमा लैजान्छ, केही थाहा हुँदैन रहेछ । युद्धमा गएपछि कोही सद्दे फर्केका छैनन् । कि मरेका छन् कि घाइते भएर आएका छन्,’ रेखाले भनिन्, ‘रुस जानुभयो । युद्ध पनि लड्नुभयो । भाग्यले तीन पटक बाँच्नुभयो । अब उहाँ सकुशल नेपाल आएको हेर्न चाहन्छौं । उहाँलाई पठाइदिन रुसलाई बिन्ती चढाउँछौं । हामीलाई पैसा चाहिएन । तलब पनि पर्दैन । मेरो श्रीमान्लाई पठाइदेऊ । भो, अब नराख । म तनावले डिप्रेसनमा गइसकेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको दाबीअनुसार रुसी सेनामा दुई सय नेपाली भर्ती भएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीका अनुसार भने कम्तीमा ७ सय जना छन् । भर्ती भएका नेपालीहरू रुस–युक्रेनको बोर्डरमा छरिएका छन् ।

कान्तिपुरको सम्पर्कमा आएका नेपालीहरूले अवस्था सोचेको भन्दा निकै डरलाग्दो रहेको बताए । ‘हामीसँग दुईवटा विकल्प मात्रै छ । कि मार्नुपर्ने हुन्छ । कि घाइते भएर क्याम्पमा फर्कनुपर्छ । युद्धमा गएर सकुशल भएर फर्केका नेपाली विरलै छन्,’ एक घाइते नेपालीले कान्तिपुरलाई भने, ‘कसैको आँखा छैन । कसैको खुट्टा छैन । कसैको हात । सद्दे मान्छे नै छैन ।’

उनका अनुसार आफ्नो समूहमा घाइते भएर फर्केका केही नेपालीको त उपचार नै सम्भव नभएर त्यत्तिकै अस्पतालमा राखिएको छ । उनले धेरै संख्यामा नेपालीको मानवीय क्षति भइसकेको बताए । ‘हामीले सोचेभन्दा शून्य प्रतिशत पनि यहाँ मिलेन । मैले भारत र पाकिस्तानको जस्तै वारिपारिमा बसेर लडाइँ हुन्छ होला भनेर सोचेर आएको थिएँ,’ ती नेपालीले भने, ‘युक्रेनको भूमि कब्जा गर्न भेडाबाख्रालाई चराउन लगे जसरी पठाउँछ । अगाडि र पछाडि भन्ने हुँदैन । युक्रेनीहरू डिफेन्स लिएर बसेका हुन्छन् । हामी खुला रूपमा अगाडि बढ्नुपर्छ । डिफेन्स लिएर बसेको युक्रेनी निसानाबाजले ड्याम्म ड्याम्म हानेर बाटोमा नै सिधाइदिन्छ । यहाँ मार्ने मात्रै हुँदो रहेछ । बाँच्ने अवस्था नै हुन्न । आँखा अगाडि मान्छे मरेको देख्दा रुन मन लाग्छ । सम्झिँदै पनि मुटु फुल्छ । मैले यस्तो जिन्दगीमा कहींकतै देखेको थिइनँ । फिल्ममा पनि देखेको थिइनँ ।’

अर्का नेपालीले लडाइँमा गएकामध्ये १० प्रतिशत पनि बाँचेर क्याम्प नफर्किने बताए । ‘हामी रुसी सेनासहित ४० जना गएका थियौं । ८–१० जना मात्रै फर्कियौं । त्यसमा सबै घाइते नै थिए,’ उनले भने, ‘असिना झरेजस्तै गोली बर्सिन्छ । कसरी बाँचेर आउने ? घरतिर रुवाबासी छ । अहिले यहाँ भएका केटाहरू डिप्रेसनमा गइसके ।’ अर्का एक नेपालीले करिब सय जना सम्पर्कविहीन रहेको बताए । ‘रुसले भर्ना गर्ने बेला हाम्रो ह्वाट्सएपको समूह बनाइदिएको छ । अहिले यो समूहमा सय जना सम्पर्कमा छैनन् । सबै आ–आफ्ना साथीहरूले खोजिरहेका छन् । कहाँ कस्तो अवस्थामा छन्, कसैले पत्ता लगाउन सकेका छैनन् । सबैले आआफ्नो समूहबाट सम्पर्कविहीन भएका साथीहरूको संख्या दिइरहेका छन् ।’

मिथिला नगरपालिका–७ ढल्केवार, धनुषाका पवन गजमेरले असोज ११ देखि आफ्नो काइँला भाइ विमलकुमार सम्पर्कविहीन भएको बताए । दुबईमा बाइक राइडरको काम गरिरहेका विमल गत भदौ २४ मा रुसी सेनामा भर्ती भएका थिए । सेनामा भर्ती भएको १८ औं दिनमा नै विमललाई युद्ध क्षेत्रमा खटाइएको थियो । ‘मेरो भाइसँग अन्तिम पटक असोज ११ मा भिडियो कल भयो । उसले आफ्नो समूहमा ३० जना रहेको देखायो । त्यसमध्ये ९ जना अरू ठाउँमा जाँदै छन् । भाइले लैजान लागेको गाडी देखायो,’ पवनले कान्तिपुरसँग भने, ‘त्यसपछि अहिलेसम्म भाइ सम्पर्कमा आएको छैन । दिनहुँ फोन र म्यासेज गर्ने कोसिस गरे पनि अनलाइनमा आएनन् ।’

उनले भाइसँग रहेका धेरैसाथीसँग सम्पर्क गर्दा पनि नभेटिएको बताए । ‘मेरो भाइलाई चिन्ने रामचन्द्र श्रेष्ठलाई सम्पर्क गरें । उनी रुसी सेनाबाट भागेर केही दिन अगाडि मात्रै नेपाल पुगेका रहेछन् । उनले पनि भाइलाई नभेटेको खबर सुनाए । मेरो भाइ कुन अवस्थामा छ भन्ने कसैले बताउँदैन,’ कुवेतमा कार्यरत पवनले भने, ‘मेरो भाइको अवस्थाबारे रुसी सेनाले पनि केही बताउँदैन । अहिले मेरो परिवार दुःखमा छ । मेरो बूढा बुबाआमा आफैंलाई सम्हाल्न असमर्थ हुनुहुन्छ । एक दिन भाइ फर्केर आउनेछ भन्ने विश्वासमा छौं ।’ सबैभन्दा बढी नेपालीहरू युक्रेनको डोनेस्क, बागुमत र मारियापुल क्षेत्रमा तैनाथ छन् । कतिपय घाइतेहरूलाई मस्को पनि लगिएको छ । घाइते भई क्याम्पमा राखिएकाहरूको भने सामान्य औषधि उपचार भइरहेको छ । ‘हामी १५ जना नेपालीको समूह थियो । पाँच जना घाइते भएर फर्केका छौं । अरूको साथीहरूबारे थाहा छैन,’ उनले भने, ‘सामान्य घाइते भएकाहरू युद्ध क्षेत्रमा घाइते बोक्न गइराख्नुपर्छ । मेरो गोली लागेको खुट्टा दुखिरहेको छ । तैपनि घाइते बोक्न गइराख्नुपर्छ ।’

४२ जनाको समूहबाट सम्पर्कमा आएका एक नेपालीले आफूहरूको दिमागले नै काम नगरेको बताए । ‘यहाँ मान्छे मर्ने र मार्नेभन्दा अर्को काम हुँदैन रहेछ । ४२ जनाको समूह थियो । यो टोलीका सबै मान्छे छैनन् । ६ जना मेरो पोस्टबाट हराए,’ उनले भने, ‘यस्तो लडाइँ त विश्वयुद्धमा पनि भएको थिएन होला । गएपछि मरेर वा मारेर आउनुपर्‍यो । कि घाइते भएर आउनुपर्‍यो । त्यत्तिकै फर्केर आउन पाइँदैन ।’ उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन सरकारसमक्ष अपिल गरेका छन् । सरकारले रुसलाई नेपालीलाई आफ्नो सेनामा भर्ती नगर्न र भर्ना गरेकालाई फिर्ता पठाउन आग्रह गरिसकेको छ । तर, रुसले नेपाली भर्नालाई खारेज गरेको छैन । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेना भर्नाका बारेमा नेपालले काठमाडौंस्थित रुसी राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको धारणा स्पष्ट रूपमा राखेको बताए ।कान्तिपुरबाट


Last Updated on: December 18th, 2023 at 1:00 pm
६२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया