शनिबार १२ साउन २०८१

कार्यक्रम: राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​
मिति: २०८० साल, मंसिर २९ गते, शुक्रवार​
स्थान: गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट)
बूकिङ: ८०० प्लेट (सम्राट दाहालको नाममा)​
सहभागी: २ हजार १३ जना ।​
प्रतिप्लेट वास्तविक दररेट : ६००० रुपैयाँ (विशेष सहुलियतबाहेक)​
फूलैफूलले ढाकेको डेकोरेसन: ‘थर्ड पार्टी भेन्डर’बाट ।

यही हो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा रहेको ‘हाइ–प्रोफाइल इभेन्ट’को मोटो हिसाबकिताब । चर्चित ‘हाइप्रोफाइल इभेन्ट’ अर्थात्, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठकको विवाह ।

प्रतिभा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल (बुवा अर्जुन पाठक)की छोरी हुन् । उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग धुमधामका साथ भएको हो ।

कानूनी पाटोलाई नहेर्ने हो भने विवाह मानिसको नितान्त व्यक्तिगत विषय हो । प्रतिभा र उनको परिवार आफ्नो हैसियतअनुसार पाहुना बोलाउन र सत्कार गर्न स्वतन्त्र पनि छ ।

तर, प्रतिभाको व्यक्तिगत स्वतन्त्रतालाई एकातर्फ राखेर सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई पनि अन्यथा मान्न मिल्दैन । उनी एउटा सामान्य नागरिक नभएर सर्वहारा वर्गको मुक्तिका लागि भन्दै लडेका / लड्न प्रेरित गरेका कम्युनिस्ट नेता (हाल प्रधानमन्त्री) प्रचण्डकी नातिनी हुन् । त्यही आन्दोलनको विरासतमा महानगरको मेयर बनेकी रेणु दाहालकी छोरी हुन् । त्यसैले प्रश्न प्रतिभामाथि हैन, प्रचण्ड र रेणुमाथि उठेको हो ।

गोकर्ण रिसोर्टस्थित विश्वस्त स्रोतका अनुसार २९ गतेको कार्यक्रमका लागि सम्राट दाहालका नाममा बूकिङ भएको थियो । शुरूमा ८०० जनाका लागि भनेर बूकिङ गरिएको स्रोतले जानकारी दिएको लोकान्तरले जनाएको छ ।

तर, सहभागीको वास्तविक संख्या भने झण्डै ३ गुणा पुग्न गयो । ‘८०० जनाका लागि भनेर सम्राट दाहालका नाममा रिसोर्ट बूकिङ भएको थियो,’ ‘तर, २ हजार १३ प्लेट खपत भयो ‘ विश्वस्त स्रोतको भनाई उद्दृत गर्दै लोकान्तरले खबर लेखेको छ ।

सामाजिक व्यवहार सुधार (नियमावाली) २०३३ मा बिहेमा नजिकका नातेदारसहित बढीमा १ सय जनालाई मात्र भोजमा सहभागी गराउन सकिने प्रावधान छ । यद्यपि सामाजिकरूपमा यसको पालना भने खासै भएको देखिँदैन ।

यस किसिमको भव्य समारोहको खर्चलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । तर, अहिलेसम्म उक्त ‘इभेन्ट’को बिल तयार नभएको उनले खुलाए । त्यस दिनको मेन्युका आधारमा वास्तविक शुल्क प्रतिप्लेट ६ हजारको हाराहारीमा रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री परिवारको हकमा प्रतिप्लेट २२ देखि २५ सयसम्मको बिल बनाएर सोनाम शेर्पा (यती समूह तथा गोकर्ण रिसोर्टका मालिक)लाई बुझाउने निर्देशन कर्मचारीलाई छ । इतिहासमै प्रतिप्लेट २२०० भन्दा कमको बिलिङ नभएको उनले खुलाए ।

‘लञ्चमा मटन, चिकेन, भेजसहित ९/१० आइटम थियो । स्न्याक्सका लागि विभिन्न किसिमका स्टल राखिएको थियो,’, ‘यत्तिको मेन्युलाई प्रतिप्लेट सरदर ६ हजार रुपैयाँ लिने गरिएको छ । बिल बनाएर सोनाम शेर्पालाई बुझाउने निर्देशन छ, तर ठ्याक्कै कतिको बनाउने भन्ने निर्देशन नआएकाले बिलिङ भएको छैन ।’

वास्तविक शुल्क प्रतिप्लेट ६ हजार रुपैयाँको दरले हिसाब गर्दा २ हजार १३ जनालाई खाना खुवाउन मात्र १ करोड २० लाख ७८ हजार रुपैयाँ खर्च हुने देखिन्छ । प्रधानमन्त्री परिवारको हैसियतमा विशेष सहुलियत पाएर २२०० रुपैयाँ प्रतिप्लेटका दरले हिसाब गर्ने हो भने ४४ लाख २८ हजार ६०० रुपैयाँको बिल उठ्नेछ ।

सरदर ५० लाख रुपैयाँको बिल जाने सम्भावना रहेको स्रोतले दाबी गर्‍यो ।

भेन्यु फ्री, सजावट ‘थर्ड पार्टी भेन्डर’बाट

स्रोतका अनुसार गोकर्ण रिसोर्टमा २०० जनाभन्दा माथिको कार्यक्रमका लागि ‘भेन्यु फ्री’ छ । अर्थात्, २०० जनाभन्दा माथिको बूकिङमा प्रतिप्लेट शुल्क मात्र तिरे पुग्छ । सोही हिसाबले यस कार्यक्रममा भेन्यु शुल्क नलागेको उनले खुलाए ।

रिसोर्टमा लाखौंको फूल ल्याएर सजावटको काम भने तेस्रो पक्षले गरेको थियो । ‘सजावटको काम थर्ड पार्टी भेन्डरले गरेको हो, त्यसमा ठ्याक्कै कति खर्च भयो भन्ने यकिन भएन,’ गोकर्ण रिसोर्ट स्रोतले भन्यो ।

कार्यक्रममा सहभागी भएर फर्किएपछि एक निम्तालुले भनेका थिए, जावलाखेलको ‘पुष्पमेला’भन्दा कम थिएन फूल ।

उक्त समारोहमा सहभागी हुनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रधान सेनापति प्रभुराम शर्मालगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता थियो । प्रधानमन्त्री आफैं आयोजक रहेको समारोहमा उपप्रधानसहित सरकारका मन्त्रीहरू, सांसदहरू, दलका नेताहरू, कूटनीतिज्ञहरूलगायत पनि सहभागी भएका थिए ।

ती सुजाता, यी रेणु

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी नातिनी (सुजाता कोइरालाकी छोरी)को विवाहमा २५ सयजना सहभागी गराएर काठमाडौंको एभरेस्ट होटलमा भव्य भोज आयोजना गरिएको भन्दै चर्को विरोध भएको थियो । विरोध गर्नेमा माओवादीकै नेताहरू पनि थिए ।

दाइजो नल्याएको निहुँमा बाँकेमा एकजना महिलालाई मट्टितेल खन्याएर आगो लगाइएपछि अन्तरिम व्यवस्थापिका संसद्मा नेमकिपा सांसद लीला न्याइँच्याइँले सुजाताकी छोरीको बिहेमा भएको खर्चको स्रोत मागेकी थिइन्, ‘महिला हिंसाको कारक प्रधानमन्त्रीको परिवार हो, २५ सयलाई भोज दिने आर्थिक स्रोत र हैसियत के हो ?’

शान्ति सम्झौतामा संयुक्त हस्ताक्षर गरेका कारण आफूलाई कोइरालासँग दाँज्ने ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठक (रेणु दाहालकी छोरी)को भड्किलो विवाहलाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ ।

आफूलाई ‘सर्वहारा वर्ग’को नेता दाबी गरिराख्ने प्रचण्डले पाँचतारे स्तरको (डिलक्स रिसोर्ट)मा गरेको विवाहको बचाउ गर्न माओवादीका नेतालाई हम्मेहम्मे परिरहेको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेबाहेक अन्य माओवादी नेताले आलोचना गर्न सकेका छैनन् ।

आलोचना गर्दा पार्टीमा बढुवा नहुने र राजनीतिक अवसर गुम्ने चिन्ताले माओवादी नेताहरू जबरजस्ती प्रचण्डको ढाकछोप गर्न लागि परेका छन् । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले त्यो भड्किलो विवाहको बचाउ गर्दा एकजनाले उनलाई फेसबूकमा प्रश्न गरेका छन्, ‘भैरवनाथ गणमा गरिएको त्याग यसैको बचाउ गर्न हो ?’

जनवादी विवाह गराउने ती प्रचण्ड, अनि यी प्रचण्ड

२०७६ साउन २० गते माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा एक जोडीको जनवादी विवाह आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथि थिए, नेकपा अध्यक्ष प्रचण्ड ।

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सचिव नरेश रेग्मी र सदस्य डा. क्षमता सुवेदीको जनवादी विवाह कार्यक्रममा उपस्थित प्रचण्डले युद्धकालको विवाहको झल्को आएको बताएका थिए । सर्वहारा कम्युनिस्टले यस्तै आचरणलाई पालना गर्नुपर्ने उनको भाषण थियो । यद्यपि अहिले उनी आफैंले त्यो अनुशासन उल्लंघन गरेका छन् ।

पत्रकार परशुराम काफ्लेले कटाक्ष गर्दै फेसबूकमा लेखेका छन्–

‘आज प्रचण्ड गोकर्णमा मात्र होइन, संसारको कुनै पनि पाँचतारे होटलमा योभन्दा भव्य कार्यक्रम गर्न सक्ने हैसियतमा हुनुहुन्छ । सम्भ्रान्त वर्गमा रूपान्तरण हुनुभएका प्रम र उहाँको परिवारलाई हिजोको जसरी जंगलमा र सडकमा रहेको देख्न चाहनेहरू पश्चगामी हुन् ।’लोकान्तरले खबर लेखेको छ ।


Last Updated on: December 19th, 2023 at 7:53 am
९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया