शनिबार १२ साउन २०८१

विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । जनकपुरधामको जानकी मन्दिरमा हिजो बेलुका सामूहिक विवाहको कार्यक्रम सम्पन्न भएको परिषद्का अध्यक्ष सन्तोष साहले जानकारी दिए । विवाह पञ्चमीको अवसर पारेर जनकपुरधाममा भएको महोत्सवमा सामूहिक निःशुल्क विवाहको आयोजना गरिएको थियो । सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

अध्यक्ष साहका अनुसार प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, बेहुलीका लागि ९ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने एक सेट सामान, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५/२५ जनाका लागि खाजा/खानाको व्यवस्था समेत परिषदले गरिदिएको थियो । परिषदका अध्यक्ष साहका अनुसार एक जोडीको बिहेको व्यवस्थापनमा ८०/८५ हजार रुपैयाँ खर्च भएको छ । परिषदले यो खर्च आर्थिक सहयोग संकलन गरी जुटाएको हुन्छ ।

यसैबीच जनकपुरधाममा अन्नबाट सीताराम स्वयम्वरको आकृति बनाएका भारत उत्तरप्रदेशका कलाकार सतीश गुर्जरले पनि सामूहिक विवाह कार्यक्रममा स्वयंम्वरगरेका छन् । उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका हुन् । विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै दाइजोको समस्या घटाउने बेहुली पक्षका आफन्तले बताएका छन् । विवाह गरेकाहरुको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएको थियो ।


Last Updated on: December 19th, 2023 at 12:10 pm
३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया