शनिबार १२ साउन २०८१

काठमाडौँ । रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।

मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको जनाएको छ ।

साथै मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल नेपाल फर्काउन रुसी राजदूतमार्फत रुसी सरकारलाई पुनःअनुरोध गरेको आज एक प्रेस विज्ञप्ति निकालेर बताएको छ । “रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ ।

सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालयअन्तरगतको कन्सुलर सेवा विभागबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएकोमा सो व्यवस्थालाई विस्तार गरी भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार र बहराइनबाट समेत रुस यात्रा गर्नु परेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्यदूतावासहरुबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुहुन सर्वसाधारणमा यो मन्त्रालय हार्दिक अपिल गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।


Last Updated on: December 21st, 2023 at 2:06 pm
८७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया