शनिबार १२ साउन २०८१

चितवन — सामाजिक सञ्जाल फेसबुकमा महिलाको नाम राखेर फेक अकाउन्ट बनाएर ‘ब्ल्याकमेलिङ’ गरी पैसा असुलेको आरोपमा चितवन प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-१३ का २० वर्षीय प्रवेश रिमाल, कास्की पोखरा महानगरपालिका-२९ बस्ने २२ वर्षको अनुराग घिमिरे र सिराहा लाहान नगरपालिका-१ का १९ वर्षीय युनिक सिंह रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई बुधबार दिउँसो ४ बजे भरतपुर महानगरपालिका-१६ बाट नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट चारवटा मोबाइल फोन सेट र ७६ हजार रूपैयाँ नगद पनि बरामद गरेको डीएसपी पण्डितले बताए ।

महिलाको नाममा उनीहरूले फेक अकाउन्ट बनाएर पुरूषहरूलाई साथी बनाउने र भिडियो च्याटमा कुराकानीसँगै अश्लिल भिडियो तथा फोटो बनाएर ब्ल्याकमेलिङ गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान सरू गरेको डीएसपी पण्डितले बताए । उनीहरूले भिडियो कल गरेर भिडियो र फोटो देखाएर पैसा माग्ने र नदिए सार्वजनिक गर्ने धम्की दिने गरेको भन्ने उजुरी परेको छ । उनीहरूले कास्कीमा पनि त्यसो गरेर पैसा असुलेको देखिने डीएसपी पण्डितले बताए ।


Last Updated on: December 24th, 2023 at 7:43 am
३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया