शनिबार १२ साउन २०८१

काठमाडौं : सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको पाइएको छ।

कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

उनका अनुसार ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो। उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो। उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवाल नेतृत्वको टोली खटिएको थियो।

उनी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो। गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए। प्रहरी पुगेपछि त्यहाँ भेला भएका स्थानीयहरू भाग्न थालेको एसपी सिलवालले बताए।

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो। उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ। प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताए।

पहिलो रात घरको खम्बामा श्रीमान-श्रीमतीलाई स्थानीयले बाँधेर राखेका थिए। त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो।

‘हामी पुग्दा गाउँलेहरू भेला भइरहेका थिए। केही स्थानीयहरू भाग्न थाले। शारदा भुइँमा लडेर बेहोस थिइन्। बिजुलीको पोलसँग बाँधिएका डोरीहरू पनि थिए,’ एसपी सिलवालले भने, ‘तीन दिनसम्म बाँधेर लाठी, हात, खुट्टाले हिर्काएको भन्ने बयान दिएकी छन्। बोल्न नसक्ने अवस्थामा भएकाले हामीले धेरै कुराकानी गरेका छैनौं। आज अलि ठीक भएको छ।’

कुटपिटबाट शारदाको शरीरमा निलडामहरू भएको उनले बताए। अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि एसपी सिलवालले बताए।

यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ।

शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्। उनले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन्। त्यही डिभोर्सको प्रक्रिया अघि बढाउन उनी केही दिन अघि मात्रै सिन्धुली पुगेकी थिइन्। कुटपिट गर्ने स्थानीयहरूको रिसिइबी शारदासँग भने देखिन्न। तर उनका श्रीमान सन्तोष र ती स्थानीयहरूबीचको लेनदेनको विवादका कारण शारदामाथि कुटपिट भएको एसपी सिलवालले बताए।

‘यसमा पक्राउ परेकाहरूको केही न केही रिसिइबी सन्तोषसँग देखिन्छ,’ उनले भने, ‘त्यसैले हामीले श्रीमानलाई पनि नियन्त्रणमा लिएका हौं।’

उनका अनुसार शुक्रबार श्रीमती शारदा आफ्ना श्रीमान सन्तोषको अपहरण भएको भन्दै प्रहरीकहाँ पुगेकी थिइन्। अदालतमा डिभोर्सको प्रक्रिया पुर्‍याउन गएका श्रीमान सन्तोष त्यहाँबाट हराएपछि शारदा प्रहरीकहाँ पुगेकी थिइन्।

अपहरणमा परेको भन्ने खबरपछि प्रहरीले सन्तोषको खोजी थालेको थियो। तर सन्तोष सकुशल नै भेटिए।

त्यतिबेला शारदाले चार जना स्थानीय पुरूष समेतको नाम लिएकी थिइन्।

‘श्रीमान सकुशल नै भेटिएपछि हामीले उहाँलाई किन के भएको हो भनेर सोध्दा उहाँले श्रीमतीले किन यसरी उजुरी दिइन् थाहा भएन भन्नुभयो। त्यसपछि हामीले शारदालाई फोन गर्यौं,’ एसपी सिलवालले भने, ‘भेरिफाइ गर्न खोज्दा मोबाइल अफ भएपछि यो कुनै झुटो मुद्दा होला भन्ने उजुरी दिएर भाग्यो भन्ने भयो।’

त्यसरी मोबाइल अफ भएपछि ती महिलालाई स्थानीय युवाहरूले नियन्त्रणमा लिएको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ। शारदालाई स्थानीय युवाहरूले नियन्त्रणमा लिएर उनीहरूको घरमा पुर्‍याए। पछि घरमा पुगेका सन्तोषलाई पनि उनीहरूले नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिएर एक रात उनीहरू दुबै जनालाई घरको खम्बामा बाँधेर राखेको देखिन्छ। त्यसका तस्बिरहरू पनि प्राप्त भएको छ। भोलिपल्ट भने श्रीमान सन्तोषलाई उनीहरूले छाडेका थिए। जसले गर्दा उनकै (श्रीमान) मिलेमतोमा आफ्नो अपहरण गरी बन्धक बनाएको शारदाले बताएकी छन्।

ती स्थानीयहरूले सन्तोषलाई एक करोड बढी रकम दिएको प्रहरीसमक्ष बताएका छन्। डिभोर्स गर्दा सन्तोषको सम्पत्ति लगेपछि आफूहरूले दिएको रकम फिर्ता नहुने भएपछि उनीहरूले शारदालाई डिभोर्स नगराउन कुटपिट थालेको बयान प्रहरीसमक्ष दिएका छन्।

‘आज जाहेरी आएपछि थप अनुसन्धान पनि होला। बयान सबैको लिन्छौं। पक्राउ परेकाहरूले श्रीमानसँग पैसा लिनुपर्ने भएकाले कुटपिट गरेको भनेका छन्,’ उनले भने, ‘श्रीमतीको नाममा भएको केही सम्पत्ति भए पनि आफूहरूले पाउनुपर्छ भनेका हुन्। पक्राउ परेकाहरूले आफूहरूको लेनदेन पहिले मिलाउनुपर्छ अनि मात्रै डिभोर्स गर्नुपर्छ भन्ने हिसाबले कुटपिट गरेको देखियो।’ सेतोपाटी


Last Updated on: December 26th, 2023 at 12:43 pm
२९१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया