शनिबार १२ साउन २०८१

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा आजबाट घरजग्गा मेला सुरु भएको छ । सो मेलामा विभिन्न घरजग्गा निर्माण कम्पनीहरुले छुट तथा अफरहरु सार्वजनिक गरेका छन् । मेला अवधिभर घरजग्गा बुकिङ गर्नेले जग्गासँग घर साट्न मिल्नेदेखि लिएर ५० लाख रुपैयाँ नगद छुटसम्मको व्यवस्था कम्पनीहरुले गरेका हुन् ।

नेपाल रियल स्टेट म्यानेजमेन्ट लिमिटेडले नेपाल भर जहाँसुकै भएको जग्गासँग घर साट्न सकिने अफर ल्याएको छ । सो जग्गाको मूल्य निर्धारण गरेर जग्गासँग घर अथवा जग्गासँग जग्गै साट्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

यस्तै घरजग्गा खरिद गर्दा २५ प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम तिर्नको लागि एक वर्षको समय दिइएको छ । एक वर्ष मासिक किस्ता बुझाए कुनै पनि ब्याज नलाग्ने रियलस्टेट म्यानेजमेन्ट लिमिटेडले जनाएको छ । यो कम्पनीले भैसेपाटी वा चाँगुनारायणमा रहेको घरजग्गामा एक्सचेन्जको अफर ल्याएको हो ।

यस्तै, यो कम्पनीको घरजग्गा खरिदमा ११ प्रतिशतसम्मको ब्याजदरमा हाउजिङ लोन पाइने गरी प्राइम, नबिल बैंकसँग सम्झौता गरेको जनाएको छ । यो व्याजदर स्थिर हो । रियलस्टेट म्यानेजमेन्टले चाँगुनारायणमा ७४ वटा घर बनाइरहेको छ भने भैसेपाटीमा २० रोपनीको ५४ वटा जग्गा रहेको छ ।

साढे ४ आनादेखि एक रोपनीसम्मको ब्लक दिन मिल्ने गरी जमिनहरुको संरचना बनाएको छ । भैसेपाटीको ४७ लाख प्रति आना मूल्य राखिएको र यसमा १५ प्रतिशत छुट दिइएको छ । यस्तै साइट भिजिट गरेर बुकिङ गर्नेलाई ५० लाखसम्मको नगद छुट दिइएको कम्पनीले जनाएको छ ।


Last Updated on: December 28th, 2023 at 6:44 pm
१०४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया