शनिबार १२ साउन २०८१

काठमाडौं, १३ पुस । जाजरकोटकी ‘वीरेन्द्रनगर ३२ क’ (नाम परिवर्तन) सामाजिक सञ्जाल टिकटकमा सक्रिय थिइन्। टिकटककै माध्यमबाट बैतडीका भूपेन्द्र ठगुन्नासँग उनको चिनजान भयो। टिकटकबाट सुरु भएको कुराकानी फेसबुक, ह्वाट्सएप हुँदै फोन साँटासाँटसम्म पुग्यो। कुरा बाक्लिँदै गएपछि उनीहरुबीच काठमाडौंमा भेट्ने सल्लाह भयो।

उनी गत वर्षको मंसिर १५ गते सुर्खेतबाट काठमाडौं पुगिन्। गाउँकै साथी बागबजार नजिकै कोठा भाडामा लिएर बस्थिन्। भूपेन्द्रसँग उनी तीन महिना बसिन्। नेपाल प्रहरीका जागिरे ठगुन्ना सर्वोच्च अदालतमा कार्यरत थिए। उनफ र भूपेन्द्रवीच साथीकै कोठामा पटक–पटक शारीरिक सम्पर्क भयो। ‘विवाहको प्रलोभन दिँदै उसले निरन्तर शारीरिक सम्बन्ध राख्यो,’ उनले भनिन्।

अवैध सम्बन्धबाट गर्भ रहन गयो। भूपेन्द्रले उनललाई गाउँ पठाए। गाउँमै रहँदा तीन महिनाको गर्भ तुहियो। ‘उतिबेला फोनमा बिहेपछि बच्चा जन्माउँला, अहिले खेर गएपनि केही हुँदैन भन्नु भएको थियो,’ उनले भनिन्, ‘म बिरामी भएर अस्पताल भर्ना हुँदा पनि उहाँ आउनु भएन।’

भूपेन्द्र १५ दिनको बिदा स्वीकृत गराएर नयाँ वर्षको दिन (वैशाख १ गते) सुर्खेत आइपुगे। ‘वीरेन्द्रनगर ३२ क’ वीरेन्द्रनगरको कालिन्चोक नजिकै कोठा भाडामा बस्थिन्। भूपेन्द्र दुई दिन उनीसँगै कोठामा बसे। त्यहाँबाट भूपेन्द्र बैतडी गए।

त्यहीँ बेला ‘वीरेन्द्रनगर ३२ क’ को पेटमा गर्भ रह्यो। यो थाहा पाएपछि भूपेन्द्र उनीसँग टाढिँदै गए। ‘फोन उठ्न छोड्यो, सामाजिक सञ्जालबाट मलाई ब्लक ग¥यो,’ उनले भनिन्, ‘पछिल्लो समय त भूपेन्द्रले मात्रै होइन, उसका आफन्त, दिदी–बहिनीले पनि धम्की दिन थाले।’

उनले विवाहको प्रलोभन दिएर पटक–पटक बलात्कार गरेको भन्दै भूपेन्द्रविरुद्ध मंसिर १५ गते जाहेरी लिएर प्रहरी कार्यालय सुर्खेत पुगिन्। प्रहरीले आफ्नै कर्मचारीविरुद्ध आएको जाहेरी लिन मानेन्। प्रहरीले जाहेरी दर्ता नगरेपछि सरा जिल्ला सरकारी वकिल कार्यालय पुगिन्। दुई दिनपछि सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गर्नुभन्दै प्रहरीलाई पत्र पठायो।

प्रहरीले सरकारी वकिल कार्यालयको पनि पत्रलाई अवज्ञा ग¥यो। त्यसपछि उनी मंसिर ३० गते राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय सुर्खेत पुगिन्। आयोगले जिल्ला प्रहरी कार्यालयलाई तत्काल मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दियो।

‘आयोगको निर्देशनपछि बल्ल प्रहरीले मुद्दा दर्ता ग¥यो,’ उनले भनिन्, ‘प्रहरी कर्मचारी भएकैले होला कुनै प्रक्रिया नै पूरा नगरेर प्रहरीले अदालतमा मुद्दा पुर्‍यायो।’

जब उनलले अदालतभित्रै विष सेवन गरिन्

मंसिर २५ गते जिल्ला अदालत सुर्खेतमा थुनछेक बहस हुँदै थियो। इजलासमा बहसका क्रममा जिल्ला सरकारी कार्यालयका प्रमुख नवीन भट्ट आफैले बहस गरिरहेका थिए। ‘उहाँले न्यायाधीश समक्ष मेरो पक्षमा भन्दा पीडकलाई सहज हुने गरेर बहस गर्नुभयो,’ उनले भनिन्, ‘मसँग भएका म्यासेज, अडियो रेकर्डलगायतका प्रमाण पनि अदालतमा नदिएको पाएपछि बाध्य भएर तरकारीमा प्रयोग हुने विषादी खाएकी हुँ।’

भूपेन्द्रले न्यायाधीशकै अघि गालीबेइज्जी गरे। उनका वकिलले पनि विभिन्न आरोप लगाए। ‘चरित्रहिन’ बनाउन सबै शब्दहरू खर्चिए। अदालतले भूपेन्द्रलाई धरौटीमा छोड्ने निर्णय सुनायो। त्यो उनलाई सैह्य भएन। उनले अदालत परिसरभित्रै विष सेवन गरिन्। प्रहरीले तत्कालै कर्णाली प्रदेश अस्पताल पुर्‍यायो। पाँच दिनपछि डिस्चार्ज भएकी सरा अहिले पनि न्यायको खोजीमा भौतारिरहेकी छिन्।

‘मेरो पक्षमा बोली दिने कोही नभएकाले सुरुमा जाहेरी दिनै समय लाग्यो, राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनपछि ढिलो गरी मुद्दा दर्ता भयो,’ उनले भनिन्, ‘अदालतमै न्यायाधीशकै अघि चरित्रहिनको आरोप लागेपछि सहन नसकेर तरकारीमा प्रयोग गर्नका लागि किनेर राखेको विष सेवन गरेकी हुँ।’ उनले अहिले पनि भूपेन्द्र र उनका घरका विभिन्न व्यक्तिहरुले फोन गरेर धम्की दिने गरेको सुनाइन्। (यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।)


Last Updated on: December 29th, 2023 at 8:59 am
९८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया