शनिबार १२ साउन २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान पाउँ भन्दै प्रदर्शनमा उत्रिएका दुईजना युवाले आज अकालमा मृत्युवरण गर्नु परेको छ ।

यसरी ज्यान गुमाउनेमा डोटीका २२ वर्षीय युवा वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावत छन् । रोजगार अनुमति प्रणाली (ईपीएस)मा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका उनीहरूमाथि प्रहरीले गोली चलाउँदा कलिला दुई युवाको ज्यान गएको हो । घटनामा दर्जनौँ युवाहरू घाइते भएका छन् भने ५० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वदेशमा रोजगारीको सम्भावना नभएपछि आफ्नो घरपरिवार चलाउन वैदेशिक रोजगारीको बाटो अपनाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका दुई युवाको मृत्युमा उच्च अदालत पाटनको एउटा निर्णय कारक बनेर खडा भएको छ ।

नेपालीका लागि पछिल्लो समय रोजगारीको मुख्य गन्तव्य बनेको दक्षिण कोरियाले शीप बिल्डिङको क्षेत्रमा काम गर्न भन्दै ठूलो संख्यामा नेपाली युवाहरूको माग गरेको थियो । उक्त रोजगारी पाउनका लागि ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । तर, परीक्षामा भने ३२ हजार ५०७ जना परीक्षार्थी मात्रै सहभागी भएका थिए ।

सहभागी परीक्षार्थीमध्ये चार हजार ९८ जना उत्तीर्ण भए भने बाँकी बाँकी ३१ हजार ३८० जना अनुत्तीर्ण भएर शीप बिल्डिङको रोजगारीमा जान पाएनन् । ती अनुत्तीर्णहरू शीप बिल्डिङको रोजगारीमा मात्र होइन त्यसपछि सञ्चालन हुने उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि आवेदन दिनबाट समेत वञ्चित बने ।

अनुत्तीर्णमध्ये सुरज पाठकसहित १८ जना आवेदकले उत्पादनमुलक क्षेत्रमा पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । यही पुस ५ गते उक्त मुद्दाको सुनुवाई गर्दै उच्च अदालतले शीप बिल्डिङमा अनुत्तीर्ण भई रिट निवेदन दिनेहरूलाई उत्पादनमूलक क्षेत्रमा पनि आवेदन भर्न दिन आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले दिएको उक्त आदेशबाट ती १८ जनाबाहेक शीप बिल्डिङमा फेल भएका कसैले पनि उत्पादनमूलकतर्फ आवेदन दिन पाएनन् ।

त्यसैको विरोधमा आज हजारौँ युवाहरूले बालकुमारीस्थित इपीएसको कार्यालय वरपर प्रदर्शन सुरू गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरे । त्यसपछि आक्रामक बनेको प्रहरीले प्रदर्शनकारीमाथि निर्मम हुँदै अश्रुग्याससहित गोली समेत चलायो । प्रहरीको गोली लागेर ती दुई जना युवाले मृत्युवरण गरेका हुन् । यद्यपि, मृतक युवाको शरीरमा गोली नलागेको विवरणहरू पनि प्राप्त भइरहेका छन् । यसको निर्क्योल पछि हुँदै जाला । तर, आजको घटनाको मुख्य दोषी भने उच्च अदालत पाटनले गरेको त्यो फैसला पनि कारक बनेको स्पष्ट छ ।

त्यो आदेशले भनेको थियो, ‘अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत्काल यी निवेदकहरूलाई हुन सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकलाई आवेदन फाराम नै भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरूका हकमा उल्लेखित मिति २०८०/०८/१९ को सूचना बमोजिम मिति २०८०/०९/०२ बाट खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनू र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनू भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।

यदि यो फैसला गर्दा निवेदकहरूसहित शीप बिल्डिङमा अनुत्तीर्ण सबैलाई उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि आवेदन दिन नरोक्नू भनिएको भए आज यो घटना घट्ने थिएन ।


Last Updated on: December 29th, 2023 at 7:54 pm
३५४० पटक हेरिएको

तपाईको प्रतिक्रिया