शनिबार १२ साउन २०८१

२ माघ, काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले अनलाइनखबरलाई बताए ।

उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए ।

गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।


Last Updated on: January 16th, 2024 at 2:56 pm
४६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया