शनिबार १२ साउन २०८१

इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई समयले साथ दिइरहेको छ । यो गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छिन् । यतिबेला भने मेनुकालाई लिएर खुसीको खबर छ । अब उनले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले यी काम गर्न सक्नेछिन् । मेनुकालाई यो उपचारमा इण्डियन आइडलले सघाउने भएको छ ।

यसैसाता आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताए । ती डाक्टरले भनेका छन्, ‘आँखामा अप्टिक नर्भ्स हुन्छ । मेनुकाको त्यो नर्भ्सले काम गरेको छैन । उनले पूर्णरुपमा देख्न सक्ने सम्भावना छैन । यो परिस्थितिमा हामीसँग यस्तो डिभाइस छ, जसले केही कामहरु आफैं गर्न सक्नेछिन् ।’

ती चिकित्सकका अनुसार त्यो उपकरण राखेपछि मेनुकाले एक्लै हिंड्न, मान्छेको अनुहार चिन्न सक्नेछिन् । ‘उनलाई आफैं थाहा हुनेछ कि उनको अगाडि को उभिएको छ ? सजिलैसँग पढ्न पनि सक्नेछिन् । उनका लागि यो ठूलो सहयोग हुनेछ,’ ती चिकित्सकले भने । यो खबर थाहा पाएपछि इण्डियन आइडलकी जज श्रेया घोषालले भनिन्, ‘म निकै खुसी छु । नयाँ वर्षमा यो खुसीको खबर आएको छ । म यो क्षण हेर्नका लागि निकै आतुर छु ।’ मेनुकाले पनि आफू उत्साहित रहेको बताइन् । त्यसपछि मेनुकाले गजबको पर्फमेन्स दिएकी थिइन् । यो पर्फमेन्समा जजले उठेर सम्मान व्यक्त गरे ।


Last Updated on: January 28th, 2024 at 8:30 am
३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया