शनिबार १२ साउन २०८१

काठमाडौं— काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको छ ।महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परिक्षण गर्दा त्यसमा अखाद्यतत्त्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।

शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।

महानगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्रीवितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिवाना समेत तोकेको छ ।

‘अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्रीवितरण नगर्न/नगराउन अनुरोध गर्दछौँ,’ महानगरको सूचनामा उल्लेख छ, ‘यदि काठमाडौं महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्रीवितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने समेत जानकारी गराइन्छ ।’


Last Updated on: January 28th, 2024 at 8:45 am
४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया