शनिबार १२ साउन २०८१

काठमाडौं । अभियन्ता गिभिना मगरको एउटा भिडिओ अहिले चर्चामा छ, जसमा उनले आफूलाई क्यान्सर भएको बताएकी छन् । केही दिनअघि उनी अचानक अस्वस्थ भएर वीर अस्पताल भर्नासमेत भएकी थिइन् ।

सार्वजनिक भएको भिडियोमा गिभिनाले भनेकी छन्, ‘मलाई बाँच्न मन छ । आमाको अधुरो सपना पूरा गर्न मन छ । सकेसम्म एक मुट्ठी सास रहुञ्जेल म रोगसँग लड्ने हिम्मत राख्नेछु । तपाईंहरुको माया र साथ मेरो साथमा छ । अब मेरोमात्रै ८ वटा किमो बाँकी छ । ८ वटा किमो चढायो भने डाक्टरले बाँच्छस् भन्नुभएको छ । मलाई हौसला बढिरहेको छ ।’

यो भिडियोको कमेन्टमा धेरैले गिभिनालाई स्वास्थ्यलाभको कामना गरेका छन् । तर, भिडियो क्लिप कहिलेको र कुन सन्दर्भको हो भन्ने खुलेको छैन । मानिसले विभिन्न अड्कलबाजी गरे पनि गिभिना मौन छिन् । कुनै प्रष्टीकरण दिएकी छैनन् । उनको मोबाइलमा पनि सम्पर्क हुन सकेन ।

हालैमात्र गिभिना रुँदै लाइभमा आएकी थिइन् । उनले आफूलाई कुनै रोग बल्झिएको बताउँदै निराशाजनक कुरा गरेकी थिइन् । त्यसको भोलिपल्ट उनी वीर अस्पतालको इमर्जेन्सीमा पुगेको समाचार आयो । उनलाई बेहोश अवस्थामा प्रहरीले अस्पताल पुर्‍याएको थियो । यद्यपि, उनी छिट्टै सञ्चो भएर अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

वीर अस्पतालको इमर्जेन्सीमा गिभिनालाई हेरेका एक चिकित्सकले गिभिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । क्यान्सरको हल्ला झूटो भएको उनको दाबी छ ।

आफ्नो नाम उल्लेख गर्न नचाहने ती चिकित्सकले भने, ‘हामीले अस्पतालमा सिटीस्क्यानदेखि ब्लड टेस्टहरु सबै गरेका हौं । कुनै पनि कैफियत देखिएको छैन । सामान्य पेनिक अट्याक भएर ल्याइएको रहेछ । ठीक भएर फर्किसक्नुभयो ।’

उनले गिभिनाको कुनै पनि गम्भीर बिमारीको मेडिकल हिस्ट्री पनि नदेखिएको बताए । भिडिओका बारेमा जानकारी नभएको उनको भनाइ छ ।

‘उहाँ अलिकति एटेन्सन सिकिङ गर्ने खालको हुनुहुँदो रहेछ, बोलेका सबै कुराहरु विश्वास गरिहाल्न हुँदैन’, ती चिकित्सकले भने ।


Last Updated on: February 5th, 2024 at 8:12 pm
१९५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया