शनिबार १२ साउन २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले चेक बाउन्सको मुद्दामा दोषीलाई बिगो मात्रै नभएर ब्याज पनि तिराउनेगरी व्यवस्था गर्नुपर्ने बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले यस्तो बताएकी हुन् ।

उनले हालको ऐन र संशोधन विधेयकमा चेक बाउन्स मुद्दामा दोषीलाई कैद र बिगो भराउने व्यवस्था मात्रै उल्लेख भएकोले त्यसमा ब्याज पनि तिर्नुपर्ने गरी ऐन संशोधन गर्नुपर्ने बताइन् ।

‘कैद र जरिवानामा पनि कैद सजाय र बिगो भराउने कुराहरु आएको छ । यसमा बरु जेलमा राख्नुको सट्टा ब्याजको कुराहरु थपौँ न ।’, उनले भनिन्, ‘ब्याजको कुराहरु कहिँ कतै पनि आएको छैन, खाली जेलमा लगेर राख्ने कुराहरु बढी आएको छ । यसलाई पनि ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।’

त्यस्तै, सांसद गौतमले चेक बाउन्सको मुद्दामा चेक बाउन्स भएको ३ महिनाभित्र उजुरी गर्न राखिएको हदम्याद साह्रै छोटो भएको बताएकी छिन् । उनले यस्तो अवधि कम्तिमा पनि ६ महिना बनाउनुपर्नेमा जोड दिएकी छिन् ।


Last Updated on: February 19th, 2024 at 7:06 pm
३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया