शनिबार १२ साउन २०८१

काठमाडौं । स्वयम्भूमा श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेको घटनामा प्रहरीले भिडिओ सन्देश प्राप्त गरेको छ। बुधबार बिहान ८ बजेतिर नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित डेरामा तीन जनाको हत्या गरिएको अवस्थामा र त्यहाँबाट अन्दाजी दुई किलोमिटर टाढा हरिसिद्धी जंगलमा एक पुरूष झुण्डिएको अवस्थामा फेला परेका थिए।

डेरामा ३९ वर्षीया ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिसा श्रेष्ठ र २ वर्षीया नातिनी शिवाना श्रेष्ठको शव फेला परेको थियो। शिवाना ईश्वरीकी पूर्वपतिका छोराका छोरी हुन्। श्रीमान राजु घिमिरेले श्रीमती ईश्वरी, उनकी ८ वर्षीया छोरी अनिसा र शिवानाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट घटनामा एक जना छोरालाई भने राजुले जोगाएका छन्।

घटना हुनुअघि राजुले १५ वर्षीय छोरालाई पसलमा पठाएका थिए। त्यसबीच राजुले घरेलु हतियार प्रहार गरी तीन जनाको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए। ‘छोरालाई पसल पठाए, त्यसपछि उनले तीन जनाको हत्या गरेको भेटिएको छ,’ उनले भने, ‘हत्या गरेर निस्किँदै गर्दा घर बाहिरै छोरा भेटिए। त्यही बाहिरै छोरालाई भिडिओ खिच्न लगाए।’

भिडिओमा उनले ईश्वरीको विवाहेत्तर सम्बन्धका कारण आफूले हत्या गरेको कुरा उल्लेख गरेको पनि प्रहरीले बताएका छन्। ‘आमा अरू केटाहरूसँग लागी, मलाई चैनसँग बाँच्न दिइनँ। आमाजस्तो नहुनू, राम्रो भविष्य होस्। बैंकमा पैसा राखेको छु। मैले बाँच्‍न सकिनँ त्यसैले मारेँ, गल्ती गरेँ,’ भिडिओ सन्देशमा भनिएको छ।

मृतक राजुले यसबारे छोरा र ससुरालाईपनि फोन सम्पर्क गरी हत्याबारे जानकारी गराएका थिए। मैले तेरा सन्तान सिध्याए भन्दै फोन गरेको खुल्न आएको छ । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले त्यहाँबाट घटनास्थलबाट छोराको उद्धार गरेको थियो। अनुसन्धानकै क्रममा छोराबाट बरामद भएको फोनमा भिडिओ खिच्न लगाएको फेला परेको हो।

बुधबार यस घटना बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएर अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा राजुले आत्महत्या गर्न जाँदैछु भन्ने खबर गरेपछि उनको खोजी गरिरहेको थियो। जसक्रममा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

भिडिओमा उनले भनेका छन्–मैले हिजो बेलुका भनेको काम गरिसकेको छु। मैले भनेको सबै कुरा भइसक्यो। यो भिडिओ सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन। रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ (बुहारी जेनिशा)। तैँले सबै कुरा किन गुपचुपमा राखिस्प ? हिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन। तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ । मैले बाँचेर गरी खाने ठाउँ भएन। त्यही भएर मैले यस्तो निर्णय गरेको छु। तिमीहरू मिलेर गरिखानू। ममीजस्तो भएर नहिँड्नु। त्यअनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु। अनिशबाट तैँले लिनु, कसैलाई पनि नदिनु चाबी। सुन सबै दराजमै छ। अनिशलाई हेला नगर्नू,नत्र राम्रो हुँदैन ।


Last Updated on: February 22nd, 2024 at 8:33 am
१९३० पटक हेरिएको

तपाईको प्रतिक्रिया