प्रिय रुपा बहिनीलाई पत्र : नहार तिमिले एकदिन पक्का जित्छौ त्यो जीत मानवताको जीत हुनेछ

काठमाडौं । पछिल्ला दिनहरुमा रूपा सुनारको डेरा प्रकरण निकै चर्चामा रहेको छ । उनलाई तल्लो जातको भन्दै कोठा भाडामा दिन नमानेकी घरबेटी सरस्वती प्रधान रिहा भएसँगै अनेक प्रश्नहरु उठ्न थालेका छन् ।

यो बीचमा चर्चित क्रान्तिकारी कवि बलाराम तिमल्सिनाले रूपाका नाममा एक पत्र लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त पत्र सार्वजनिक गरेका हुन् । पत्र हेर्नुहोस्

प्रिय रूपा बहिनी ,
यो दुखको बज्र तिम्रो टाउकामा परेको वेलामा यो दाजुको तर्फबाट सान्त्वनाका दुई शब्द लेख्दै छु।

प्रिय बहिनी,
यहाँ हिरासतबाट सिधै निकालेर बिजयी भावमा चुनाव जितेको नेता जसरी हात हल्लाउदै हिड्न उध्दार गर्न आइपुग्ने मन्त्री छन कसैका। योभन्दा ठूला ठूला अपराध हुँदा पनि सकभर मुध्दा नै नलाग्ने र लागिहाले पनि सेटिङमा छुटाउने सरकार छ कसैको।

तर रूपा बहिनी तिम्रो लागि माथि कोही पनि छैनन। माथि जो छन ती सबै तिम्रा वैरीहरू छन। तिम्रो न पुलिस छ , न न्यायलय छ । तिम्रो न मन्त्री छ न सरकार छ। तिम्रो दह्रो रक्षा गर्ने कानून र संबिधान पनि छैन।

धर्म ? धर्म पनि तिम्रो रक्षक होइन भक्षक हो। तिमीले मान्ने हिन्दू धर्मले दलित र अझ महिलालाई मान्छे नै गन्दैन पसु गन्छ। ” ढोल गवार पसु शूद्र नारी , ये सब ताडन का अधिकारी ” भनेर प्रष्टै भनेको छ। अब हेर त ।तिमी त नारी पनि शूद्र पनि। तिमीलाई त कुटेरै तह लाउनु पर्छ भनेको छ धर्मशास्त्रले । ईश्वर ? तेत्तीस कोटी देवता कोही तिम्रो पक्षमा थिएनन/’छैनन। देवीहरू पनि दलितको पक्षमा थिएनन/ छैनन।

मुध्दा दर्ता गर्ने बेलामा प्रहरीको रबैया देखिहाल्यौ। शिक्षा मन्त्रीको गुण्डागर्दी पनि देखिहाल्यौ। तिमीमाथि विभेद गर्ने मान्छेलाई फिल्मी शैलीमा हिरासतबाट झिकेर गाडीमा हालेर गुण्डा तरिकाले लगेको हेर्दा तिमीलाई कस्तो अनुभूति भयो होला ? तिमीलाई लाग्यो त – यो सरकार तिम्रो पनि हो भनेर ? पक्कै लागेन । हुन त यो देश तिम्रो पनि हो। तर सारमा यो देश अझै तिम्रो भैसकेको छैन। यो देश अझै मुख र पाखुराबाट जन्मनेहरूले चलाइरहेका छन।

दुखको घडीमा तिमी सम्वध्द पत्रकारहरूको संगठन पनि हरायो? दलितका बडे बडे एनजीओहरू हराए ?

दलित आयोग कता हरायो ? महिला आयोग कता लुक्यो ? थुप्रै कवि कलाकारहरू हराए । फेमिनिष्टहरूको ठूलो बगाल नै हरायो। राजनीतिक पार्टीहरूलाई तिम्रो दुख कुनै दुख हो भन्ने नै लागेन।

आफूलाई कम्युनिष्ट भन्ने, समाजवादी भन्ने, लोकतन्त्रवादी भन्ने कैयन मानिसहरूभित्रको ब्राम्हणवाद यही वेला फुत्त निस्कियो र- ‘तिमीले कोठा पाइनौ! हामीले कोटा पाएनौ !’भनेर रत्यौली खेल्न थाल्यो। अरु कतिले आफ्नो घर आफ्नो मर्जी भनेर भँडास पोखे। लकडाउनको वेला लखर लखर कोठा खोज्न कसले भनेको थियो भन्ने देखि लिएर बाठी भएर म कामीकी छोरी हुँ भनेर किन भन्नु पर्थ्यो भनेर उल्टै तिमीलाई दोष दिनेहरू पनि निस्किए। थुप्रै प्रगतिशीलहरूले लाज छोप्ने बस्त्र खुस्काए ।

रूपा बहिनी,
यस्तो लाग्थ्यो कि प्रतिगमन सरकारी रङ्गमञ्चमा छमछमी नाचिरहेको आजको क्रुर समयमा तिमी झण्डै झण्डै एक्लै छौ।

तर तर , सबै मानिसहरू मरिसकेका थिएनन। कोही जीवित पनि थिए। सबैले मूल्यलाई पोलेर खाइसकेका थिएन। सबै जना प्रतिगमनका मतियार बनि सकेका थिएन। थोरै मान्छे नै सही, जसका दिलमा न्यायको दीयो अझै बल्दै थियो।

जसको छात्तिभित्र मानवताको ढुकढुकी अझै चल्दै थियो। तिनीहरू योध्दाजस्तै बनेर तिम्रो पक्षमा उभिए। ती भूइँबाट धूलो टकटक्याउदै उठे र तिम्रो पक्षमा उभिए। ती पूर्वबाट उभिए। ती पश्चिमबाट उभिए। ती हिमाल पहाड र मधेशबाट उभिए। ती उत्पीडक जातीको पंक्तिभित्रबाट पनि उभिए। सबैका हात हातका चिरागहरू जोड्दा एउटा विशाल दावानल बन्यो र उच्च जातीवादीहरूको दिमागमा आतङ्क नै मच्चायो।

यो लामो लडाईको एउटा भि’डन्त थियो। यो भि’डन्त तिमीले शानदार लड्यौ। जीवन भि’डन्त नै भि’डन्तहरूको महासंग्राम हो।

म तिम्रो जीवन भि’डन्तमय होस र अन्तिम यु’ध्दमा तिम्रो जीत होस भन्ने शुभकामना दिन चाहन्छू साथै आफ्नो तर्फबाट भरपूर सहयोग गर्ने प्रतिवध्दता व्यक्त गर्दछु । त्यो जीत तिम्रो निजी जित हुने छैन।त्यो जीत तिम्रो जातीको मात्र जीत हुने छैन। त्यो जीत मानवताको जीत हुने छ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button