निजी आर्जनको बण्डा नलाग्ने सम्पत्ति के हो ? यस्तो छ कानुनी व्यवस्था

पछिल्लो समय अध्ययन, रोजगारीका लागि मान्छेहरू देश–विदेशका विभिन्न ठाउँ पुग्ने गर्छन् । त्यहाँ आफ्नो ज्ञान, सीप, श्रमको भरपूर प्रयोग गरी आम्दानी गर्छन् । एक जना व्यक्ति वा परिवारको कमाइबाट शहरका सुविधासम्पन्न ठाउँमा घरजग्गालगायत सम्पत्ति जोड्छन् । सम्पत्ति जोडेपछि कतिपयलाई एउटै चिन्ताले सताउने गर्छ, ‘मैले कमाएको सम्पत्ति अरूलाई बाँड्नुपर्छ कि पर्दैन ? कानुनी रूपमा बण्डा लाग्छ कि लाग्दैन ?’

यो नेपालका विभिन्न शहरमा बसोबास गर्ने र विश्वभर छरिएर रहेका नेपालीको साझा समस्या बनेको छ । दुःख गरेर पढ्यो, काम गर्‍यो, केही सम्पत्ति जोड्यो अनि त्यो सम्पत्ति दुःख नगरी बसी–बसी खानेलाई बाँड्नुपर्ने भएपछि कतिलाई यसले मानसिक तनाव दिइरहेको हुन्छ । कानुनी ज्ञानको अभावमा कतिपयले आफूले आर्जन गरेको सम्पत्ति परिवारका अरू सदस्यलाई बण्डा लाग्ने डरले साथीभाइ वा कुनै चिनजानका व्यक्तिको नाममा राख्ने गर्छन् । उक्त व्यक्तिले विश्वासघात गर्दा पूरै सम्पत्ति गुमाएका अथवा झन्झट बेहोरेका उदाहरण थुप्रै छन् ।

के छ कानुनमा ?

साविकको मुलुकी ऐन अंशबण्डाको १८ नं. र हालको मुलुकी देवानी संहिता २०७४ को दफा ५६ ले निजी सम्पत्तिसम्बन्धी व्यवस्था गरेको छ । जसमा कुनै व्यक्तिको नाममा रहेको कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिने उल्लेख छ ।

यस्तो सम्पत्तिमा आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको, दान बाकस वा अपुतालीस्वरूप प्राप्त गरेको, चिठ्ठा वा उपहारस्वरूप प्राप्त गरेको, पारिश्रमिक, उपदान, निवृत्तिभरण, उपचार खर्च, सञ्चयकोष, बीमा वा अन्य सामाजिक सुरक्षणबापत प्राप्त गरेको, बौद्धिक सम्पत्ति वा रोयल्टीस्वरूप प्राप्त गरेको सम्पत्ति पर्छन् ।

कानुनबमोजिम मानो छुट्टिएर भिन्न बसेको अवस्थामा वा त्यसरी नछुट्टिए पनि खति उपति आफ्नो–आफ्नो गरिखानु–बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको सम्पत्ति, महिलाले विवाहपूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति, महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति, त्यसबाट बढे बढाएको सम्पत्ति र कानुनबमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको सम्पत्तिलाई कानुनले निजी सम्पत्ति मानेको छ ।

कुनै पनि व्यक्तिको निजी आर्जनको सम्पत्तिबाट खरिद गरेका घरजग्गा परिवारका अन्य अंशियार सदस्यलाई बण्डा गर्नु पर्दैन ।

बण्डा गर्नु नपर्ने तर प्रमाणित गर्नुपर्ने

कुनै पनि व्यक्तिको निजी आर्जनको सम्पत्तिबाट खरिद गरेका घरजग्गा परिवारका अन्य अंशियार सदस्यलाई बण्डा गर्नु पर्दैन । आफ्नो निजी सम्पत्ति आफूखुशी गर्न पाउँछ । तर, त्यस्तो सम्पत्ति निजी सम्पत्ति हो भन्ने कुरामा भने अन्य अंशियारहरूलाई बुझाउन सक्नुपर्छ । कसैले त्यस्तो व्यक्तिले आर्जन गरेको सम्पत्तिलाई सगोलको सम्पत्ति दाबी गरी अंश भाग माग गरी अदालतमा मुद्दा मामिला गरेमा भने प्रमाण पेश गरेर त्यस्तो सम्पत्ति निजी सम्पत्ति हो भन्ने प्रमाणित गराउन सक्नुपर्छ ।

के–के हुन सक्छ प्रमाण 

आफूले अध्ययन, ज्ञान आर्जन, पेशा, रोजगारी वा व्यवसाय गरेर आम्दानी गरेका प्रमाण खुल्ने कागजात जस्तै शैक्षिक प्रमाणपत्रका प्रतिलिपि, नियुक्ति पत्रका प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रका प्रतिलिपि, सरकारलाई कानुनबमोजिम कर बुझाएका प्रमाण, तलब बुझेका रसिद, भरपाई वा बैंक स्टेटमेन्ट, विदेशबाट नेपालमा पैसा पठाएका भौचर र स्लिप, पेन्सन पट्टाका प्रतिलिपि, आफ्नो नाममा सञ्चयकोष वा उपदानबापत रकम जम्मा भएका वा ऋण लिएका कागजात रोयल्टीबापत रकम बुझेको भनी खुल्ने कागजपत्र, दान बाकस पाएको लिखत आदि निजी सम्पत्ति प्रमाणित गर्ने प्रमाण हुन सक्छन् । यस्तो प्रमाण भने मुद्दामामिला परी अदालतले माग गरेका बखत मात्र पेश गर्नुपर्ने हुन्छ । यस्ता प्रमाण कागज जुनसुकै बेला पनि आवश्यक पर्न सक्ने भएकोले सुरक्षित राख्नुपर्छ ।

अन्य अंशियारको हक नलाग्ने तर छोराछोरीको लाग्ने

निजी आर्जनबाट जोडेको घरजग्गालगायत सम्पत्तिमा व्यक्तिको निजी अधिकार हुने भएकोले आफू सरहका अंशियारजस्तै आमाबाबु, दाजुभाइ, दिदीबहिनीको हक लाग्दैन आफूखुशी गर्न पाउँछ । तर, बाँकी रहेको अंशबाट मात्र निजका छोराछोरीको भने अंश हक लाग्छ । आफ्ना बाबुका नाममा जुनसुकै स्रोतबाट प्राप्त हुन आएको सम्पत्ति निजका सन्तानका लागि पैतृक नै मानिन्छ भन्ने नजिर समेतको प्रतिपादन भएको छ ।

श्रीमतीले श्रीमानसँग अंश लिई भिन्न बस्न चाहेमा वा सम्बन्ध विच्छेद गर्न चाहेमा श्रीमानको पैतृक सम्पत्तिबाट कानुनबमोजिम अंश लिन पाउँछिन् तर एकअर्काका एकल प्रयासबाट आर्जन भएका, प्राप्त भएका र सोबाट बढे बढाएको निजी सम्पत्तिमा भने एकअर्काले दाबी गर्न पाउँदैनन् । तर, श्रीमान्–श्रीमतीको संयुक्त लगानी, मेहनत, ज्ञान, सीप, प्रयासबाट सगोलमा बसी आर्जन गरी जोडेको घरजग्गा र सोबाट बढे बढाएको सम्पत्तिमा भने बराबर हक लाग्छ ।

कहिलेसम्म मुद्दा गर्ने ?

निजी आर्जनको सम्पत्तिसम्बन्धी कुनै विवाद सिर्जना भई कानुनी उपचार खोज्नु परेमा मर्का पर्ने पक्षले काम कारबाही भए गरेको मितिले छ महिनाभित्र अदालतमा फिराद पत्र दर्ता गर्नुपर्छ ।

स्थापित नजिर

कसैको निजी आर्जनको सम्पत्तिलाई अंशबण्डा लाग्ने पैतृक सम्पत्तिमा मिसाइयो भने त्यस्तो सम्पत्तिले पनि पैतृक सम्पत्तिको स्वरूप धारण गर्ने कानुनको विधिशास्त्रीय मान्यता छ । त्यसैले निजी आर्जनको सम्पत्तिमा अन्य अंशियारको समेत साझा हक लाग्ने पैतृक सम्पत्तिमा मिसाइएको हुन नहुने, ‘कुनै सम्पत्ति निजी ज्ञान, सीप र प्रयासको परिणति हो’ भन्ने तथ्य स्थापित भएको अवस्थामा त्यस्तो ज्ञान, सीप र प्रयासको अवमूल्यन गरी व्यवहार गरिनु नहुने, विदेशमा रहेका आफ्ना छोराको आर्जनबाट आफ्नो नाममा खरिद भएको सम्पत्ति पनि निजी श्रम, सीप र प्रयासमध्ये प्रयासको आर्जन भए सोबाट अन्य अंश अंशियारलाई अंश दिन बाध्य बनाउनु नहुने भन्नेलगायत नजिर स्थापित भएका छन् ।

यस सम्बन्धमा प्रतिपादित नजिरहरू र कानुनी व्यवस्थाकोे आधारमा एकाघर सगोलमै रहे भएको अवस्थामा समेत निजी आर्जनको भनी पुष्टि भएमा उक्त सम्पत्तिमा अंशियारहरू बीच भाग नलाग्ने आफूखुशी गर्न पाउने हुन्छ । मानो छुट्टिएकोमा सोही दिनबाट र मानो नछुट्टिए पनि खति उपति आ–आफैँले बेहोर्ने भनी लिखत भए गरेकोमा सो पश्चात् आर्जन गरेको सम्पत्ति स्वआर्जनको हुने र बण्डा नलाग्ने कानुनी व्यवस्था छ ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button