विप्लव र बैद्यसहित ४ कम्युनिष्ट पार्टीबीच भयो यस्तो सहमति, वैकल्पिक सत्ताका लागि संयुक्त मोर्चा निर्माण हुने

काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक पार्टीबीच केपी ओली सरकारको फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले संयुक्त वक्तव्य जारी गर्दै उक्त घोषणा गरेका हुन् । मोर्चाको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

चार पार्टीका शीर्ष नेतृत्वद्वारा हस्ताक्षरित संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘संविधानसभाले निर्माण गरेको भनिएको वर्तमान संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, दमन र उत्पीडन गर्दै आएको छ । कथित नयाँ संविधानअनुसार भएको चुनावबाट खड्गप्रसाद वलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै सङ्कट थोपर्दै आएको छ । वर्तमान सत्ता, व्यवस्था र सरकारले गर्दै आएका जनघात, राष्ट्रघात र चरम भ्रष्टाचारी कदमहरूको हामीले विरोध र प्रतिवाद गर्दै आएका छौँ । त्यही क्रममा संसदीय राजनीतिले मान्दै आएको दुईतिहाइ बहुमत रहेको भनिएको कम्युनिस्टको खोल ओढेको केपी सरकारले पुस ५ गते संसद् विघटन गरेको छ । पछिल्ला घटनाहरूप्रति हामी तपसिलका पार्टीहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’

वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवी जनताबीचको अन्तरविरोध चर्किंदै गएको बेला दलाल तथा प्रतिक्रियावादी पुँजीवादका विभिन्न गुटहरूका बीचमा पनि अन्तरविरोध चर्कंदै गएको विज्ञप्तिमा उल्लेख छ । तयस्तै दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको ४ कम्युनिष्ट पार्टीको ठहर छ ।

‘वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवी जनताबीचको अन्तरविरोध चर्किंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पुँजीवादका विभिन्न गुटहरूका बीचमा पनि अन्तरविरोध चर्कंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ रहेको छ । केपी वलीको कदम निरङ्कुश एवम् फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो ।’ वक्तव्यमा भनिएको छ।

अहिले देश र जनताले भोगेका समस्याहरूको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन गरेर मात्रै नहुने भन्दै यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र सङ्घीय जनगणतन्त्र/वैज्ञानिक समाजवादको स्थापना हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘अहिले देश र जनताले भोगेका समस्याहरूको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र सङ्घीय जनगणतन्त्र/वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।’ वक्तव्यमा भनिएको छ ।

केपी ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति आफुहरुको बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको र यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिने ४ पार्टीले जनाएको छन् ।

‘केपी वली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ ।’ वक्तव्यमा भनिएको छ ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button