आइतबार २२ आषाढ २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको सरकारी गाडी हराएको भन्दै गृह मन्त्रालयमा चिठी पठाइएको घटनाले नयाँ मोड लिएको छ। चिठी पठाएको दुई दिनपछि गाडी मन्त्रालयमै फेला परेको छ।

गाडी हराएको र फेला परेको घटनामा लोसपा अध्यक्ष महन्थ ठाकुर र मन्त्री शरतसिंह भण्डारीको नाम जोडिँदा मन्त्रालयभित्रको राजनीतिक तनाव पनि सतहमा आएको देखिएको छ।

मन्त्रालयका एक उपसचिवका अनुसार, उक्त गाडी श्रममन्त्री शरतसिंह भण्डारीले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रयोग गर्न दिएका थिए। ठाकुरले गाडी निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेको दाबी गरिएको छ।

श्रम मन्त्रालयका प्रवक्ता डण्डु घिमिरेले गाडी हराएको चिठी पठाएको कुरा सत्य भएको तर कसले प्रयोग गर्‍यो भन्नेबारे आफूलाई थाहा नभएको बताए। स्रोतका अनुसार, गृहमा चिठी लेखेपछि ठाकुरका सहयोगीहरूले गाडी मन्त्रालयमा बुझाएका थिए।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले गाडी हराएको विषयमा सोधपुछ गरेपछि गृहलाई चिठी लेख्न लगाएका थिए। स्रोतका अनुसार, मन्त्री भण्डारी र सचिव पुष्करबिच मनमुटावका कारण सचिवले ठाकुरले गाडी प्रयोग गरेको थाहा हुँदाहुँदै पनि खोजतलासका लागि चिठी लेखेका थिए।

लोसपा महासचिव डा. सुरेन्द्र झाले भने गाडी अध्यक्ष ठाकुरले कहिलेकाहीं प्रयोग गर्ने गरेको र एक महिनाअघि नै मन्त्रालयमा बुझाइसकेको दाबी गरेका छन्। यद्यपि, अर्का उपसचिवले गाडी गृहलाई चिठी लेखेपछि मात्र आएको र ठाकुरकी छोरीले प्रयोग गर्ने गरेको बताएका छन्।


Last Updated on: July 6th, 2025 at 3:45 pm
२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design