सोमबार २३ आषाढ २०८२

काठमाडौँ । अब आईफोनमा नग्न अवस्थाका भिडिओ कल गर्न नपाइने भएको छ । एप्पलले फेसटाइम भिडिओ कलको क्रममा नग्नता पहिचान गरी कल आफै पज हुने फिचरको काम थालेको हो । कम्पनीको नयाँ अपरेटिङ सिस्टम आईओएस २६ मा यस्तो फिचर ल्याउन आउने बताइएको छ । यो फिचर हाल डेभलपरका लागि उपलब्ध आईओएस २६ को डेभलपर प्रिभ्यु भर्सनमा देखिएको छ ।

सामाजिक सञ्जाल एक्समा ‘आईडिभाइस हेल्प’ नामक प्रयोगकर्ताले यस फिचरको चर्चा गरेका छन् । उनले सार्वजनिक गरेको स्क्रिनशट र विवरणका अनुसार यदि भिडिओ कलमा कुनै नग्न शरीर देखा पर्दा स्क्रिनमा एउटा पप-अप देखिनेछ । उक्त पपअप मेसेजमा लेखिएको हुन्छ, “तपाईँले केही संवेदनशील कुरा देखाइ रहनु भएको हुन सक्ने भएकाले अडियो र भिडिओ पज गरिएको छ । यदि तपाईँले असहज महसुस गर्नु भएको छ भने कल अन्त्य गर्नुपर्ने हुन्छ ।”त्यसपछि प्रयोगकर्तालाई कल काट्ने वा सामान्य रूपमा पुनः नियमित रूपमा जारी राख्ने विकल्प दिइन्छ । वास्तवमा यो फिचर बालबालिकाको एप्पल अकाउन्टका लागि डिजाइन गरिएको ‘फेमिली टुल्स’ को एक हिस्सा थियो । तर, हाल परीक्षणको क्रममा यो सबै किसिमका प्रयोगकर्ताको अकाउन्टमा पनि सक्रिय हुने देखिएको हो ।

आईओएस २६ को टेस्टिङ भर्सनमा यसलाई अन/अफ गर्ने बटन भए पनि अफ गर्दा समेत फिचरले काम गरिरहेको बताइएको छ । यसले यो एप्पलको प्रणालीमा रहेको कुनै कमजोरी हुन सक्ने तर्फ सङ्केत गरेको छ ।यो फिचरका कारण एप्पलले प्रयोगकर्ताको भिडिओ कलमा पहुँच राखेर नग्नता पहिचान गर्छ कि भन्नेबारे गोपनीयता सम्बन्धी चिन्ता पनि बढेको छ । तर, एप्पलको नीतिअनुसार यस्तो विश्लेषण फोनभित्रै मसिन लर्निङ प्रविधिबाट हुन्छ । अर्थात् एप्पलले नग्नता पत्ता लागेको जानकारी प्राप्त गर्दैन र प्रयोगकर्ताको भिडिओ वा फोटोमा कम्पनीको पहुँच हुँदैन ।

आईओएस २६ हाल डेभलपर बेटा चरणमा छ र अन्तिम भर्सन सेप्टेम्बरमा सार्वजनिक हुनेछ । तर, यसै महिना सो अपरेटिङ सिस्टमको पब्लिक बेटा भर्सन आउने अपेक्षा गरिएको छ । कस्तो प्रकारको नग्नताले फोनको भिडिओ पज गर्छ भन्नेबारे अझै स्पष्ट छैन । परीक्षणको क्रममा एप्पलले यिनै पक्षलाई सुधार गर्ने देखिन्छ ।


Last Updated on: July 7th, 2025 at 4:10 pm
५ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design