शनिबार १२ साउन २०८१

२४ जेठ, काठमाडौं । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् ।

गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिएका छन् । उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे ।

उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए। चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी वृद्धि हुने गर्दछ । नेपालगञ्जमा दिनअघि त्यहाँको तापक्रम ४४ दशमलव दुई डिग्री सेल्सियससम्म पुगेको थियो ।


Last Updated on: June 6th, 2024 at 5:09 pm
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया