
तीन दिनअघि प्युठानको गौमुखी गाउँपालिका- ५ खुङ्का निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदुकुमारी न्यौपाने रहेका छन् । उनीहरू नाताले ज्वाइँ–सासू हुन् । लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन् ।
ज्वाइँसँगको अवैध शारीरिक सम्बन्ध थाहा पाएपछि गाउँलाई समेत थाहा दिएको निहुँमा उपाध्यायको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्युठान प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीका अनुसार यही माघ १८ गतेको बिहान ८ः३० बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा भेटिएका थिए ।
चिन्तामणिलाई लोकबहादुर र जेदुकुमारीले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । रोजगारीका सिलसिलामा श्रीमान् भारतमा र छोराछोरी सबैको विवाह भइसकेका कारण घरमा जेदुकुमारी एक्लै बस्दै आएकी थिइन् । उनले सुरुमा चिन्तामणिसँग सम्बन्ध अगाडि बढाइन् । चिन्तामणिसँग प्रेममा हुँदा जेदुको सम्बन्ध आफ्नै ज्वाइँ लोकबहादुरसँग पनि थियो ।
पक्राउ परेका लोकबहादुर र जेदुकुमारीबीच सम्बन्ध रहेको र उक्त विषय उपाध्यायलाई थाहा भएपछि दुवै जनाले योजनाबद्ध रूपमा हत्या गरेको केसीले बताए । कल डिटेल रिपोर्ट र घटनामा प्रयोग गरिएको भरुवा बन्दुकको बटको आधारमा अनुसन्धान सफल भएको प्रहरी निरीक्षक केसीको भनाइ छ ।
घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक, मोबाइल र सात हजार रुपैयाँ नगद समेत बरामद गरेको छ । एक वर्ष अघि लोकबहादुरलाई आफ्नै घरमा बोलाएर जेदु यौन क्रियाकलापमा मस्त भएको बेला चिन्तामणिले फेला पारी बाहिरबाट चुक्कुल लगाएर थुनेका थिए । र, निजहरूको सम्बन्धको बारेमा गाउँ छिमेकलाई समेत थाहा दिएका थिए । त्यसपछि चिन्तामणिलाई कुनै दिन नमारी नछाड्ने भनेर निज दुवैजना प्रतिवादीहरूले रिसईबी लिएको र त्यही रिसइबिको बदला लिन जेदु र लोकबहादुरले हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले बताए ।
‘‘यही माघ १७ गतेका दिन राति फोनमार्फत जेदुले चिन्तामणिलाई बोलाएको र त्यसपछि दुई जना मिलेर हत्या गरेको हो,’’ प्रहरी निरीक्षक केसीले भने, ‘‘चिन्तामणिलाई उनीहरुले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’’
प्रहरीले घटना भएको २४ घण्टा नबित्दै जेदुलाई आफ्नै घरबाट र लोकबहादुरलाई भागेको अवस्थामा जङ्गलबाट नियन्त्रणमा लिएको थियो ।