
काठमाडौं । यतिबेला गायिका एलिना चौहान वैवाहिक जीवनमा आएको खटपटका कारण चर्चामा छिन् । अष्ट्रेलियाबाट फर्किएकी उनी मेला-महोत्सव व्यस्त छिन् । यही मेसोमा उनले दुबईमा रहेका एक नेपालीबाट ठगिएको भन्दै फोटोसमेत सार्वजनिक गरेकी छन् ।
एक भिडिओ राख्दै उनले कार्यक्रमको नाममा ठगेको भन्दै दीपक बराइलीमाथि आरोप लगाएकी हुन् । उनले दीपकको तस्बिर पनि भिडिओमा राखेकी छन् । तर, कति ठगेको भन्नेबारे खुलाएकी छैनन् ।
भिडिओमा एलिनाले भनेको कुरा यस्तो छ-
एकजना दीपक बराइली भन्ने मान्छे हुनुहुन्छ । उहाँ दुबईमा बसेर ठग्ने काम गर्नु हुँदोरहेछ । उहाँले मलाई कार्यक्रमको आयोजक हुँ भनेर सम्पर्क गर्नुभयो । फेरि, उता मेन आयोजकलाई सम्पर्क गरेर म एलिनाको म्यानेजर हुँ भन्नुभयो ।
त्यति भनेर उहाँले उता एलिनाको पेमेन्टको पैसा भनेर माग्नु भएछ । मेरो पेमेन्ट भनेर मागेको त्यो पैसा उहाँले आफैँ लग्नुभयो । त्यसरी उहाँले हामीलाई एकदम मज्जाले ठग्नुभयो । मैले उहाँलाई कति अनुरोध गरेँ । कहिलेकाँही मान्छेलाई आपतविपत पर्छ भन्ने सोचेर समय पनि दिएँ । तर, उहाँले एकपटक पनि म दोषी हुँ भन्ने महसुस गर्नु भएन ।
पैसा दिने कुरा त परै जाओस्, उल्टै ठूला-ठूला कुरा गर्नुभयो । अब त्यति पैसाको लागी म केस गर्न सक्दिनँ । त्यसैले मैले यहाँ फोटो राखेको छु । उहाँको आफन्त वा चिनेको कसैले मेरो भिडिओ हेर्दै हुनुहुन्छ भने, यो भिडिओ उहाँसम्म पुर्याइदिनु होला ।
अहिलेसम्म उक्त व्यक्तिले पैसा फिर्ता नगरेको एलिनाको भनाइ छ । उनले दीपकले धेरैलाई ठगिसकेको जिकिर गरेकी छिन् ।